कोरोना संकटमा खटिएका स्वास्थ्यकर्मी र कर्मचारीको १० लाख बराबरको बीमा

बाजुरा । कोरोना सङ्क्रमणविरुद्ध खटिरहेका स्वास्थ्यकर्मी र कर्मचारीलाई बाजुराको हिमाली गाउँपालिकाले १० लाख बराबरको बीमा गर्ने निर्णय गरेको छ । प्रतिदिन पाँच सय थप सुविधा दिइरहेको हिमाली गाउँपालिकाले थप १० लाख बराबरको बीमा गर्ने निर्णय पनि गरेको हो ।

सरकारको २५ लाख र प्रदेश सरकारको १५ लाखमा गाउँपालिकाले १० लाख थपेर ५० लाख बनाएको गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले जनाएका छन । मानव जातिको सुरक्षाका लागि खटिएका कर्मचारीलाई हौसला दिन थप सुविधा र बीमा गर्ने निर्णय गरिएको हो ।

वैशाख २ र ३ गते गाउँपालिकामा बसेको विपद् व्यवस्थापन तथा कोरोना भाइरस नियन्त्रण तथा रोकथाम समितिको बैठकले गरेको उक्त निर्णय सार्वजनिक गरेको हो ।

गाउँपालिकाले गरेको निर्णयले कर्मचारीको मनोबल बढेको गाउँपालिका स्वास्थ्य शाखा संयोजक राजबहादुर भण्डारीको भनाइ छ । निर्णयले स्वास्थ्यकर्मी, कर्मचारीसहितको मनोबल बढाउने योजना हिमालीले ल्याएको हो ।