हिमाली जिल्ला दार्चुलामा कालाजारका बिरामी

दार्चुला । दार्चुला अस्पतालमा उपचारका लागि आएका एक जनामा कालाजार देखिएको छ । मालिकार्जुनका एक जनालाई कालाजार देखिएको अस्पतालले जनाएको छ ।

हिमाली जिल्ला दार्चुलामा लामो समयदेखि ज्वरोले सिकिस्त देखिएका ५० वर्षीय पुरुषमा कालाजार भेटिएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्मरदत्त भट्टले मिडियालाई बताए ।

उनलाई थप उपचारका लागि सुदूरपश्चिम प्रादेशिक अस्पताल धनगढी रेफर गरिएको जिल्ला अस्पताल दार्चुलाले जनाएको छ । मलेरिया, कालाजारजस्ता ज्यानै जोखिममा पार्ने रोगको सङ्क्रमण हिमाली जिल्ला दार्चुलामा समेत देखापरेको हो ।

जलवायु परिवर्तनका कारण जीवजन्तु, जीवाणु र परजिवीहरुले समेत बसाइँसराइ गर्न थालेपछि पहाडमा कालाजारका बिरामी भेटिन थालेको स्वास्थ्यकर्मीहरुको भनाइ छ । तराईका जिल्लामा पाइने लामखुट्टे, भुसुनाजस्ता परजिवीको बिगबिगी पछिल्लो समय पहाडी जिल्लामा समेत बढ्दै गएको छ ।

विसं २०७५ मा दार्चुलामा चार जनामा कालाजार देखिएको थियो । यसअघि कालाजारका कारण एक जनाको जिल्लामै ज्यान गएको थियो । कालाजार रोग लागे हल्का ज्वरो आउने, तौल घट्ने, थकान महसुस हुने, खानामा रुचि नहुने, रक्तअल्पता हुने, कलेजो तथा फियोको आकारमा वृद्धि हुने, छालाको रङ गाढा हुँदै जानेजस्ता लक्षणहरु देखापर्ने जिल्ला अस्पतालका चिकित्सक डा गजेन्द्र दुवाल बताउँछन ।

कालाजार एक प्रकारको भुसुनाले टोकेर हुने सरुवा रोग हो । रोगीलाई टोकेको भुसुनाले स्वस्थ व्यक्तिमा टोके यो रोग सार्ने गर्छ । लिस्मानियाबाट सङ्क्रमित पोथी भुसुनाद्वारा मान्छेमा सर्ने रोग कालाजार हो । यसको लक्षण भुसुनाले टोकेको एकदेखि चार महिनाभित्र देखिने गरेको स्वास्थ्यकर्मी बताउँछन् ।