अमेरिकामा १० नेपालीको ज्यान गयो

एजेन्सी । महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण अमेरिकामा ज्यान गुमाउने नेपालीको सङ्ख्या १० पुगेको छ । तीन साताअघि निधन भएका ७२ वर्षीय विष्णुकुमार राईको शव न्यूयोर्कको एल्मस्र्ट अस्पतालमा रहेको पुष्टि भएसँगै निधन हुनेको सङ्ख्या १० पुगेको हो ।

बिहीबार ७० वर्षका महेश अमात्यको न्यूयोर्कको रिजउडमा र बुधबार पवन मल्लको उडसाइडमा निधन भएको थियो । शुक्रबार एक अर्का नेपालीको निधन भएको छ, तर अस्पतालले पुष्टि नगरेको भन्दै परिवारका सदस्यले नाम सार्वजनिक नगरिदिन आग्रह गरेका छन । उनीहरुको अन्तिम संस्कारको तयारी गरिएको छ ।

हालसम्म केहीको सद्गति भइसकेको र सोनाम लामाको भने कोही आफन्त सम्पर्कमा नआएकाले शव यकिन गर्न नसकिएको मेरिल्याण्ड जनरल एसेम्बलीका विधायक ह्यारी भण्डारीलाई उद्धृत गर्दै मिडियाले उल्लेख गरेका छन । भण्डारीले स्थानीय निकाय र शवदहन गृहसँगको समन्वयमा आवश्यक कानूनी प्रक्रिया पूरा गर्न समन्वयकारी भूमिका निर्वाह गर्दै आएका छन ।

यसैबीच भण्डारीले नेपालीलगायत सबैको निधन दुःखद् भन्दै दिवङ्गत भएका र आर्थिक अभावमा रहेका नेपालीका लागि गैरनाफामूलक संस्थासँगको सहकार्यमा अन्तिम संस्कार गर्न सहयोग गर्दै आएको जानकारी दिएका छन । कोरोना भाइरसका कारण विभिन्न मितिमा निधन हुनेहरुमा अनिल लिम्बू, अजय छेचुंन, निमा टेम्बा शेर्पा, राजकुमार थापा, थोक्मे विस्ट र सोनाम लामा रहेका छन ।

एनआरएन ग्लोबल हेल्थ कमिटीका संयोजक डा सञ्जीव सापकोटाका अनुसार विश्वव्यापीरूपमा भए जस्तै सङ्क्रमितमध्ये २५ देखि ३० प्रतिशतभन्दा बढी नेपालीले आफूलाई सङ्क्रमणबाट मुक्त गराउन सफल भएको बताए । यसअघि अमेरिकामा करिब ५०० नेपाली सङ्क्रमित भएको आँकडा सार्वजनिक भएको थियो ।