कोरोना कहरः विश्वभर करिब एक लाख ६२ हजारको मृत्यु, अमेरिकामा मात्रै ३९ हजारले ज्यान गुमाए, संसारकै एकतिहाईभन्दा बढी संक्रमित पनि अमेरिकामै

एजेन्सी । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट संसारभर ज्यान गुमाउनेको संख्या एक लाख ६१ हजार ९५१ नाघेको छ । अमेरिकामा मात्रै मृत्यु हुनेको संख्या ३९ हजारभन्दा बढी पुगेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालय र विश्व स्वास्थ्य संगठनद्वारा सार्वजनिक तथ्यांक अनुसार आइतबार साँझसम्म अमेरिकामा ३९ हजार १५ जनाभन्दा बढीको मृत्यु भएको छ । अमेरिकामा ७ लाख ३९ हजारभन्दा बढी संक्रमित भएका छन् ।

अमेरिकाका सबैजसो राज्यमा लकडाउन र सामाजिक दूरीका कडा नियमहरु लागू गरिए पनि संक्रमितको संख्यामा अझै कमी आएको छैन । अमेरिकामा सबैभन्दा बढी प्रभावित न्यूयोर्क शहरमा नर्सिङ होममा आश्रित ज्येष्ठ नागरिकको ठूलो संख्यामा मृत्यु भएको छ ।

अमेरिकामा लकडाउन अन्त्य गर्न प्रदर्शन भइरहे पनि कोरोनासँग संघर्षरत युरोपेली मुलुकहरुमा कतै लकडाउन र आपतकालको अवधि बढाइएको छ भने डेनमार्क, स्वीडेन जस्ता केही मुलुकले प्राथमिक विद्यालयहरु खोलेका छन् ।

कोरोनाभाइरसका कारण अहिलेसम्म अमेरिकापछि सबैभन्दा धेरै मृत्यु हुनेको संख्या इटलीमा रहेको छ । पछिल्लो विवरण अनुसार इटलीमा २३ हजार २२७ जनाको मृत्यु भएको छ भने तेस्रो स्थानमा रहेको स्पेनमा मृत्यु हुनेको संख्या २० हजार ६३९ जना रहेको छ ।

भारतमा ५३५ को मृत्यु
नेपालसँग खुला सिमाना भएको छिमेकी मुलुक भारतमा आइतबार दिउँसोसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५३५ पुगेको छ । यहाँ १६ हजार ३६५ जना संक्रमित भएका छन भने २४ सय ६६ जना निको भएका छन । नेपालमा आठ हजारको परीक्षण गर्दा ३१ जनामा कोरोना संक्रमण देखिएकोमा ४ जना निको भएर घर फर्किसकेका छन ।