फलामको मान्छे

कविता

० दीपा दाहाल दीपहरि

बुबा, तपाईँले भन्नु त भएक‌ै हो
फलामजस्तै कठोर बन्नुपर्छ तिमी
भिड्नुपर्छ यो समाजसँग …१

फलामले पनि चल्ला कोरल्दोरहेछ बुबा
र त तपाईँको मानसमा आफ्नैजस्तो फलाम सन्तानको डिएनए रहेछ ।
नत्र बाबुले छोरीलाई कसरी फलाम बन्न सिकाउँछन् ?
यहाँ त छोरी मथेर नौनी बनाउनेहरूको राज छ ।

सदियौँदेखि कछुवाको गतिमा चलिरहेको समाज
कसरी बदलिन सक्थ्यो र रु
यहाँ मान्छेको दिमाग पनि अख्रक्क परेर जमेको छ
हिमालमा ठिहीमा जमेको हिउँजसरी ।
०००
शिर ठाडो पार्ने चेस्टा नगरेको कहाँ हो र बुवा ?
शिर ठाडो पार्ने बहानामा आफ्नै शरीर जलाउनु परेको थियो कुनै रात
अनि सदिऔँदेखि पराइ बनेको थियो आफ्नै छाप्रो…१
जम्मै जम्मै याद छ बुबा
धुरीमा आगो सल्काउँदा औँशीको रात पनि
उज्यालो हुनेरहेछ भन्ने जानेको दिनदेखि
मैले पनि मनमा आगोको बिरुवा उमारेको हुँ ।
पत्थरको संगत गर् भनेको दिन पहरामा गएर बेस्मारी छाती ठोकेकै हुँ
र पहरोजस्तै बलियो बनाएको हुँ आफ्नो छाती ।
                     ०००
फलाम मान्छे बनेजस्तै मान्छे फलाम पनि बन्दोरहेछ बुबा ।
फलाम बनिसकेपछि मैले त सबै थोक भुलेँ
म तपाईँको छोरी हुँ भन्ने कुराबाहेक सबै ।