काँग्रेस प्रवक्ताले भनेः बेमौसमी बाजा नबजाऔँ

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद बैठकले संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश र राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश पास गरेर राष्ट्रपतिले पारित गरेको विषयलाई इंगित गर्दै काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बेमौसमी बाजा नबजाउन आग्रह गरेका छन ।

सामेबार साँझ ट्वीट गर्दै उनले संसारकै अहिलेको प्रधान प्राथमिकता कोरोनामाथि विजय हासिल गर्ने भएको उल्लेख गरेका छन । अध्यादेश पारित भएलगत्तै नेकपाको आकस्मिक बैठकलगायत पूर्व माओवादीबाट मन्त्री बनेकाहरु नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालको निवासमा आकस्मिक बैठकमा पुगेपछि अनेक अडकलबाजीहरु सुरु भएको छ ।

यहीबीच काँग्रेस प्रवक्ता शर्माले लेखेका छन, ‘बेमौसमी बाजा; नबजाऔं ! संसारकै अहिलेको प्रधान प्राथमिकता कोरोनामाथि विजय हासिल गर्ने हो । नेपाल देशका लागि पनि यतिबेला अन्य सबै बिषय गौण छन् । गौण रहनुपर्छ । हाम्रो सम्पूर्ण सोच र शक्ति नेपाल र नेपालीको रक्षाका लागि एकतापूर्वक समर्पित रहनैपर्छ ।’