कास्कीमा मजदूरलाई घर पठाइँदै

कास्की । कास्कीमा अलपत्र मजदुरको उद्धार शुरु भएको छ । पोखरा महानगरपालिका तथा अन्य संघसंस्थाले घर जान नपाएर अलपत्र नागरिकलाई घरसम्म पु¥याउन पहल शुरु गरेका हुन् ।

कोरोनाको सम्भावित जोखिम न्यूनीकरण गर्न सरकारले आह्वान गरेको लकडाउनका कारणले गाडी नचल्दा घर जान नपाएका मजदुरलाई पोखरामा वडाले समन्वय गरेर गन्तव्यसम्म पु¥याउन शुरु गरेको हो ।

महानगरको वडा नं १६, ११ र वडा नं १९ को समन्वयमा बुधबार साँझ रोल्पा र दाङका २१५ मजदुरलाई पोखराबाट पाँच वटा बसमा उनीहरुको घरतर्फ पठाइएको हो ।

रोल्पाका १७५ जनालाई चार बसमा लिवाङसम्म र दाङका ४० जनालाई सदरमुकामसम्म पु¥याउने व्यवस्था गरिएको वडा नं १६ का वडाध्यक्ष जीवनप्रसाद आचार्यले जानकारी दिए । गण्डकी प्रदेश सरकार तथा महानगरका विभिन्न पूर्वाधार निर्माणका आयोजनामा खटिएका मजदुरहरुलाई घर पठाइएको हो ।

त्यसैगरी साँझ ७ बजे पोखराबाट दाङका लागि ४० मजदुरलाई गाडीको व्यवस्था गरी पठाइएको छ । मङ्गलबार नेपालगञ्जका लागि १९ र कोहलपुरसम्म १३ जनालाई जाने व्यवस्था गरिएको थियो ।

लकडाउनका कारणले काम गर्दै आएको ठाउँमा सामलको अभाव भएपछि मजदुर घर जान कष्टकर यात्रा शुरु गरेपछि सरकारले उनीहरुको उद्धार गरी सहजरूपमा घर पु¥याउने निर्णय गरेको थियो ।

लकडाउनकै अवधिमा यसअघि चैत १७ गतेसम्म जिल्ला प्रशासन कार्यालयको समन्वयमा तीन हजार २०० हाराहारीमा मजदुरको निर्माण व्यवसायीले साइटबाट उद्धार गरी घर पठाएको नेपाल निर्माण व्यवसायी संघ कास्कीले जनाएको छ ।