ठूला मिडियाले विषम परिस्थितिमा पारिश्रमिक नदिने, जागिरबाट हटाउने र बेतलबी बस्न दबाव दिएको समाचारप्रति प्रेस युनियनको खबरदारी

काठमाडौं । विश्व कोरोना भाइरसको महामारी झेलिरहेका बेला नेपाल पनि त्यसबाट प्रताडित भएको र यसको असर सबै क्षेत्रमा झै संचार जगतमा पनि परेको छ । नेपालमा पनि कोरोना भाइरस संक्रमण देखिएपछि रोकथाम तथा उपचारका लागि गत चैत ११ गतदेखि मुलुकभर लकडाउन लागु गरिएको छ ।

यस्तो जटिल परिस्थितिमा सञ्चारकर्मीहरु अग्रभागमा रही आफ्नो ज्यान जोखिममा राखेर जनतालाई सूसुचित गर्न अहोरात्र खटिरहेको नेपाल प्रेस युनियनले जनाएको छ । तर केही ठूला सञ्चार प्रतिष्ठानले हालै सञ्चार क्षेत्रमा कार्यरत पत्रकार, कामदार र कर्मचारीलाई समयमा पारिश्रमिक उपलब्ध नगराउने, जागिरबाट हटाउने र बेलतबी बिदामा बस्न निर्देशन दिने गरेको भन्ने समाचारप्रति नेपाल प्रेस युनियनको गम्भिर ध्यानाकर्षण भएको अध्यक्ष बद्री सिग्देलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘यस विषम परिस्थितिमा सञ्चार प्रतिष्ठानहरुले समय मै तलब उपलब्ध नगराउँदा श्रमजीवी पत्रकार र कर्मचारीहरुलाई दैनिक गुजारा चलाउन कठिन हुनु र व्यवस्थापन पक्षबाट प्रोत्साहित गर्नुुपर्ने बेला जागिरबाट हात धुनुपर्ने अवस्था सिर्जना हुनु सिंगो सञ्चार क्षेत्रका लागि दुःखद पक्ष हो । सञ्चार प्रतिष्ठानहरुले नै यसरी पत्रकारलाई जागिरबाट निकाल्ने हो भने लम्बिदै गएको लकडाउनका कारण भोलि अन्य उद्योगहरुले श्रमिकलाई कामबाट निकालेका समाचार सञ्चारमाध्यमहरुले सम्प्रेषण गर्ने नैतिकता कहाँ रहला ? तसर्थ नेपाल प्रेस युनियन श्रमजीवी पत्रकार र कर्मचारीको यस संवेदनशीलताप्रति जिम्मेवार भई प्रस्तुत हुन सम्बन्धित सञ्चार प्रतिष्ठानहरुलाई हार्दिक अनुरोध गर्दछ ।’

पीडित सञ्चारकर्मीहरुलाई सञ्चार क्षेत्रको जिम्मेवार संस्थाका नाताले आफ्ना केन्द्रीय समिति, क्षेत्रीय समिति, जिल्ला समिति र प्रतिष्ठान समितिका सदस्यहरुलाई सम्पर्क गर्न पनि युनियनले अपिल गरेको छ ।

मोफसल र दुरदराजमा रहेर आमजनतालाई सूचना प्रवाह गरिरहेका स्वरोजगारमूलक पत्रपत्रिका, एफएम रेडियो र अनलाइनमात्र होइन सहरबजार र राजधानीका ठूला तथा साना सबै सञ्चारप्रतिष्ठानले पनि लकडाउनका कारण ठूलो चुनौतीको सामाना गर्नुपरेको समस्याप्रति युनियनले सरकारको ध्यानाकर्षण गराएको छ ।

‘नागरिकलाई हरपल सूचना सम्पेषण गर्ने सम्पूर्ण सञ्चारकर्मी र सञ्चारमाध्यमलाई यस संकटमा सहयोग गर्नका लागि तत्काल राहतको विशेष प्याकेज घोषणा गर्न प्रेस युनियन सरकारसँग आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।