हवाई उडान जेठ २ गतेसम्म बन्द

काठमाडौं । बैशाख १८ सम्म स्थगन गरिएको हवाई उडानको अवधि जेठ २ सम्म थपिएको छ । कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिले आन्तरिक तथा बाह्य हवाई उडानलाई आगामी जेठ २ गते (मे १५) सम्म स्थगित राख्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा शनिबार बसेको बैठकले उक्त निर्णय गरेको सचिव नारायणप्रसाद बिडारीले सञ्चारकर्मीलाई बताए ।

कोभिड–१९ बाट उत्पन्न परिस्थितिका कारण यसअघि सरकारले यही वैशाख १८ गते (अप्रिल ३०) सम्म आन्तरिक तथा अन्तर्राष्ट्रिय उडाउन स्थगित गर्ने निर्णय गरेको थियो ।

कोभिड–१९ को जोखिमका कारण घोषणा गरिएको लकडाउनका समयमा हालसम्म भएगरेका कामको समीक्षा गर्दै बैठकले लकडाउन सही ‘ट्र्याक’मा रहेको निष्कर्ष निकालेको छ ।

समितिले लकडाउनका लागि चालिएका कदम ठीक दिशातर्फ उन्मुख रहेको निचोड रहेको बताउँदै सचिव बिडारीले लकडाउन कसरी अघि बढ्छ भन्नेबारे सरकारबाट छिट्टै निर्णय आउने जानकारी दिए ।