दुई सय बिघामा लगाएको तरकारी असिनापानीले नष्ट

परासी । लगातार केही दिनदेखि हावाहुरीसहित आएको असिनापानीले नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा करीब दुई सय बिघा जमिनमा लगाएको तरकारी बाली नष्ट भएको छ ।

असिनापानीले घिरौँला, लौका, करेला, फर्सी, काँक्रोलगायत लहरेबालीका साथै प्याज, खुर्सानी, धनियाँ, मुला, बन्दालगायत क्षति पुगेको हो । लाखौँ मूल्यको तरकारीखेती एकै पटक नष्ट भएपछि कृषक चिन्तित भएका छन ।

पाल्हीनन्दन–५ मा मात्रै सय बिघा र अन्य वडामा सय बिघा गरी दुई सय बिघामा लगाइएको तरकारीखेतीमा क्षति भएको गाउँपालिकाका कृषि शाखा प्रमुख पशुपतिनाथ चौधरीले जनाएका छन ।

फल्न लागेका र टिपेर बिक्री गर्ने तयारीमा रहेको लहरे तरकारीबाली कामै नलाग्ने गरी नष्ट भएको पाल्हीनन्दन–५ का महेन्द्र गुप्ताले बताए ।

यहाँका अधिकांश कृषकको आम्दानीको स्रोत नै तरकारीखेती हो । महेशपुर, परासी, सुनवल, बर्दघाटलगायत नजीकको बजारमा आफूले उब्जाएको तरकारी बिक्री गरेर यहाँका किसानले दैनिक गुजारा चलाउने गरेका छन् ।