‘सरकार स्वेच्छाचारी भयो’

काठमाडौं । प्रजातन्त्रवादी काननु व्यवसायीहरुको संस्था डेमोक्र्याटीक लयर्स एशोसिएसन (डिएलए)ले बर्तमान सरकारले दण्डहिनतालाई प्रश्रय दिएको आरोप लगाएको छ । एबोसिएसनले सरकार विरुद्ध आन्दोलन गर्ने चेतावनी पनि दिएको छ ।

अपराधीलाई पक्ष पोषण गर्ने सरकारको शंकास्पद भूमीकाले नागरिक सुरक्षाको अनुभुति हुन नसकिरहेको डिएलएको ठहर छ । देशका विभन्न ठाउँहरुमा भएका घरेलु हिंसा, बलात्कार, हत्या, अपहरण तथा यौनजन्य हिंसाको कारण महिला तथा बालबालिकाहरु असुरक्षित भइरहेकाले सरकारलाई जिम्मेवार हुन डिएलएले आह्वान गरेको छ । निर्मला पन्तको बलात्कार पश्चात भएको हत्या सम्बन्धमा लामो समयसम्म पनि अपराधीको पहिचान गरी कानुनी दायरमा ल्याउन राज्य संयन्त्र उदासिन भएको डिएलएको आरोप छ ।

आफ्नो २९औं स्थापना दिवसको अवसरमा आयोजना गरेको पत्रकार अन्तरक्रियामा डिएलएका अध्यक्ष योगेन्द्र बहादुर अधिकारीले वर्तमान राज्य सत्ताबाट प्रेस स्वतन्त्रता, कानुनी राज्य, मानव अधिकारको पालना हुन नसकिरहेको टिप्पणी गरे ।

उनले सरकारको गतिविधि हरेक दृश्टीकोणले आलोच्य र शंकास्पद रहेको बताउँदै कानुनको परिपालनाका लागि सरकारलाई दवाव दिन देशव्यापी अभियान चलाउने तयारी भइरहेको जानकारी दिए ।

संसदीय सुनुवाई समिति, सरकार र सत्तारुढ दलको प्रत्यक्ष दबाबमा न्यायपालिकाको स्वतन्त्रतालाई प्रभावित पारी न्यायाधीशलाई कार्यपालिकाको नियन्त्रणमा राख्ने भावनाबाट राज्य संचालकहरु ग्रसित रहेको उनको ठम्याई छ ।

त्यसैगरी कानुन बमोजिम नियूक्त भएका विभिन्न निकायका पदाधिकारी तथा राजदुतहरुको समयावधी पुरा नहुदै प्राकृतिक न्यायको सिद्धान्त विपरीत निस्कासन गर्ने सरकारका क्रियाकलापहरु स्वेच्छाचारी देखिएको डिएलएले जनाएको छ ।

अध्यक्ष अधिकारीले भने, “देशमा बढदो भ्रष्टाचार, मंहगी र कालोबजारीलाई नियन्त्रण गरी जनतालाई राहत प्रदान गर्ने दिसामा सरकार उदासिन रही आफना कार्यकर्ताको पक्षपोषण गर्ने दिसा तर्फ अग्रसर रहेको देखिन्छ ।”

पछिल्लो समय नेपाल सरकार मन्त्रीपरिषदबाट भएका निर्णयहरु गोप्य राख्ने कार्य अत्यन्त शंकास्पद रहेको डिएलएका उपाध्यक्ष राजु कटुवालले बताए । उनले परराष्ट्रनिती तथा कुटनीतिक मर्यादालई सरकारले पालना गर्न नसकेको पनि टिप्पणी गरे ।