बाँझा जमिन हराभरा हुने आसा

मन्थली । शहरमा केन्द्रित जनशक्तिलाई कोरोना संक्रमणको त्रासले गाउँ फर्कन बाध्य तुल्याएपछि दूरदराजका गाउँबस्तीमा अहिले मानिसको चहलपहल बाक्लिएको हो । वर्षौँपछि गाउँमा जनशक्ति र धेरै वर्षपछि ठीक समयमा मनसुन सुरु भएपछि ग्रामीण भेगमा बाँझा रहेका जमिन हराभरा हुने आसा गरिएको छ । यसले यो वर्ष बर्खे खाद्यान्न उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको छ ।

कोरोना भाइरसको जोखिम नियन्त्रण तथा रोकथामका लागि गरिएको लकडाउनका कारण बिचल्लीमा परेका श्रमिक घर फर्किएर बाँझो जमिन खनेर बालीनाली लगाउन शुरु गरेको रामेछाप सुनापति गाउँपालिकाका अध्यक्ष धावा लामाले बताए ।

मुलुक संघीयतामा गए पनि गाउँमा रोजगारी नपाएर शहर पसेकाहरु कोरोनाको डरले गाउँ फर्किएका छन । असहज परिस्थितिले ग्रामीण भेगका जनतालाई आफ्नो जन्मथोलो फर्कन र लामो समयदेखि बाँझो रहेका खेतबारी र भिरपाखामा बालीनाली लगाएर आत्मनिर्भर बन्न महामारीले प्रेरणा दिएको छ ।

रामेछापको मन्थली नगरपालिकाका प्रमुख रमेश बस्नेतले कोरोनाको जोखिमका कारण गरिएको बन्दाबन्दीपछि ठूलो सङ्ख्यामा रामेछापवासी घर फर्किएकाले बाँझो जमिन नराख्न र कृषि कर्ममा लाग्न आह्वान गरेका छन । सहजरुपमा बीउबिजन र मलखाद उपलब्ध गराउन आफूहरुले कोसिस गरिरहेको पनि उनको भनाइ छ ।

शहरमा दैनिक गुजारा गर्न नै संकट भएपछि कतिपय स्थानीय तहले आफ्ना नागरिकलाई यातायातको व्यवस्था गरेर भएपनि गाउँ पु¥याएका थिए । काठमाडौंबाट ठूलो सङ्ख्यामा घर फर्कने दोलखा, रामेछाप, सिन्धुली, ओखलढुुङ्गा, अर्घाखाँची, रोल्पा, रुकुम, सल्यान, कैलालीलगायतका जिल्लाका नागरिक थिए ।