कोरोनासँग लडन अक्षय कुमारको ३० करोड सहयोग

एजेन्सी । कुनै पनि देशका सेलिब्रेटीहरु अभिनय गर्न, नाच्न, वा पर्दामा फाइट गर्न र दर्शकको तालीका लागि मात्रै होइन, देशलाई परेका बेला अगाडि सर्नका लागि पनि हो भन्ने कुरा भारतीय अभिनेता अक्षय कुमारले पटक पटक उदाहरण पेश गरेका छन ।

हरेक सेलिब्रेटी तिनै दर्शक र प्रसंसकले रुचाइदिएका कारण उँचो स्थानामा पुगेका हुन्छन । यही कुरा मनन गर्दै भारतीय नायक अक्षय कुमारले जनताको दुःखमा निरन्तर साथ रहेको सन्देश दिइरहेका छन ।

उनको दानी मनका बारेमा धेरै जानकार छन । कोरोना भाइरस संक्रमण फैलिएसँगै उनले पटक पटक आफ्नो तर्फबाट सहयोग गर्दै आएका छन । पछिल्लो पटक अक्षयले मुम्बई पुलिसलाई दुई करोड डोनेसन गरेका छन । यो कुरा मुम्बई पुलिसले आफ्नो ट्वीटमार्फत सार्वजनिक गरेको छ ।

मुम्बई पुलिसको कमिश्नरको अफिसियल ट्वीट हेन्डलबाट गरिएको यो पोस्ट अनुसार मुम्बई पुलिस फाउन्डेशनका लागि दुई करोड सहयोग गरेकोमा मुम्बई पुलिसले अक्षय कुमारलाई धन्यवाद ज्ञापन गरेको छ । ट्वीटमा भनिएको छ, ‘तपाईँको यो सहयोग त्यस्ता मानिसको जीवन रक्षा गर्न काम आउने छ, जो यस सहरको रक्षाका लागि समर्पित छन ।’

यसअघि पनि अक्षय कुमारले जब देशमा लकडाउनका कारण फिल्म इन्डष्ट्रि र अन्य मजदुर वर्ग मुस्किलमा परे त्यसपछि अक्षय कुमारले दिल खोलेर सहयोग गर्न सुरु गरेका हुन । यो भन्दा अघि उनले पीएम केयर फन्डमा २५ करोड डोनेसन गरिसकेका छन । यस्तै उनले स्वास्थ्यकर्मीलाई पीपीईका लागि भनेर बीएमसीलाई तीन करोड सहयोग गरेका थिए ।