सरकार डरको साम्रज्य खडा गर्दैछः प्रेस युनियन

काठमाडौं । सरकार नियन्त्रित रेडियो नेपालबाट प्रसारित जनता समाजवादी पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईको अन्तरसंवाद रेकर्डबाट हटाउन लगाएको र त्यतिले पनि नपुगेर सञ्चार मन्त्रालयले मन्त्रिस्तरीय निर्णयबाट रेडियोका कार्यकारी निर्देशक शुरेस कुमार कार्की र समाचार प्रमुख डा नवराज लम्साललाई ३ दिन भित्र लिखित स्पष्टीकरण सोधेको घटनाप्रति नेपाल प्रेस युनियनको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ।

सोमबार बिहान साँढे ६ बजे लाइभ प्रशारण गरिएको अन्तर संवाद कार्यक्रमबारे सरकारले रेडियो नेपालका कार्यकारी निर्देशकलाई क्षमा माग्न लगाउँदा पनि त्यतिले नपुगेर सरकारले लिखित स्पस्टिकरण मागेको हो ।

लकडाउनमा रहेका बेला महिनादेखि २४ सै घण्टा कार्यालयमै बसेर सूचना, समाचार र मनोरञ्जन प्रदान गर्न गर्दा पनि पत्रकार तथा कर्मचारीहरुलाई प्रोत्साहित गर्नुपर्नेमा मन्त्रीस्तरीय निर्णय गरेर उल्टै स्पष्टीकरण सोधेर हुर्मत लिएर डरको साम्राज्य खडा गर्न खोजेको नेपाल प्रेस युनियनको बुझाइ छ । यस घटनाप्रति आफ्नो गम्भीर आपत्ति रहेको युनियनले जनाएको छ ।

युनियनका महासचिव अजयबाबु शिवाकोटीद्वारा जारी विज्ञप्तिमा अथितिले प्रत्यक्ष प्रसारणमा बोलेको कुरालाई लिएर पत्रकारसँग स्पष्टीरण सोध्ने कार्यले रेडियो नेपालका कार्यक्रमहरुमा अथिति टुंगो लगाउने कार्य पनि संचार मन्त्रालयले गर्ने हो वा त्यो भन्दा माथि प्रधानमन्त्री कार्यालयबाट हुने हो प्रश्न खडा भएको छ भनिएको छ ।

संचार मन्त्रालयले स्पष्टीकरण पत्र काट्दा रेडियोको नेतृत्वलाई सोधेर त्यहाँबाट मातहतका व्यक्तिलाई सोध्ने परम्परा विपरित मन्त्रालयले सिधै समाचार प्रमुखलाई पत्र काटेर पूर्वाग्रह राखेको देखिएको ठहर युनियनको छ । यस्ता कार्य तुरुन्त फिर्ता लिई रेडियो नेपाललाई स्वतन्त्र र स्वायत्त ढंगले चल्ने वातावरण बनाउन युनियन पनि युनियनले माग गरेको छ ।

यनियनले भनेको छ, ‘जनताको करबाट संचालन हुँदै आएको रेडियो नेपाललाई सरकारमा रहेकाहरुको मात्र भजन गाउने संस्थाको रुपमा बुझ्ने भ्रमबाट मुक्त हुन पनि नेकपा नेतृत्वको सरकारलाई युनिनय सचेत गराउँछ।’

युनियनले चितवनमा कार्यरत क्रियाशील पत्रकार विनोदबाबु रिजाल र अर्जुन अधिकारीलाई आफ्नो परिचयपत्रसहित समाचार संकलनमा रहेको अवस्थामा सुरक्षाकर्मीबाट सोमबार भएको धरपकड र गिरफ्तारी बारेमा पनि ध्यानाकर्षण भएको जनाएको छ ।

कोरोनाको त्रासका बीच जीवनको पर्वाह नगरि नागरिकको सुसूचित हुनपाउने संविधान प्रदत्त अधिकारको लागि खटिरहेका पत्रकारलाई गिरफ्तार गर्ने कार्यको युनियन कडा शब्दमा निन्दा गर्दछ, विज्ञप्तिमा भनिएको छ ।

यसैगरि दैलेखमा नागरिक दैनिकका पत्रकार गोविन्द केसीलाई समाचार लेखेकै आधारमा धम्की दिने नारायण नगरपालिकाप्रति युनियनले आपत्ती जनाएको छ ।