संघीय सांसदसँग बजेटबारे उद्योग मन्त्रीको छलफल

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सरकारको आगामी नीति, कार्यक्रम र बजेटमा समावेश गर्ने विषयबारे संघीय सांसदहरुसँग छलफल थालेका छन ।

मन्त्री लेखराज भट्टले मंगलबार सुदूरपश्चिम प्रदेश र प्रदेश नम्बर ५ बाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदहरुसँग छलफल गरेका हुन । सांसदहरुले सुक्खा बन्दरगाह, औद्योगिक क्षेत्र, औद्योगिक करिडोरको कामलाई प्रमुख प्राथमिकतामा राख्न, औद्योगिक ग्राम स्थापनाका गर्ने कार्यविधि लचिलो बनाउन, रुग्ण उद्योग सञ्चालन गर्ने वातावरण बनाउन मन्त्री भट्टलाई सुझाव दिएका छन ।

स्थानीय स्तरमै खाद्यान्न खरीद गर्ने गरी समर्थन मूल्य तोक्नुपर्ने, गाउँपालिका स्तरमै खाद्य डिपो हुनुपर्ने, रासायनिक मलको आपूर्ति सहज हुनुपर्ने, स्थानीयसँग रहेको सीपलाई प्रवद्र्धन गरी प्रधानमन्त्री रोजगार कार्यक्रमसँग जोड्नुपर्ने सुझाव दिएका छन ।

सुन चाँदीका गहना बनाउने, भाँडाकँुडा बनाउने उद्योग, कृषि सामग्रीको प्रशोधन गर्ने उद्योगलाई थप परिस्कृत गर्दै जाने र सरकारले त्यस्तो सीपलाई मान्यता दिनुपर्ने सुझाव साँसदहरुको छ ।

वैदेशिक रोजगारीबाट फर्कनेलाई अहिलेदेखि नै रोजगारी दिनेतर्फ ध्यान पु¥याउनुपर्ने, सीप सिकेर आएकालाई उद्योग खोल्ने सुविधा दिनुपर्ने, स्थानीय तह, प्रदेश र सघीय सरकारलाई क्रमशः साना, मझौला र ठूला उद्योगको जिम्मा दिनुपर्ने, जडीबुटी प्रशोधन उद्योग खोल्नेतर्फ विशेष ध्यान दिने सुझावसमेत सांसदहरुले दिएका छन ।

सातवटै प्रदेशका राजधानीमा उपलब्ध सांसदहरुसँग छलफल गरी आगामी नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्ने योजना तय गरिएको मन्त्रालयले जनाएको छ ।