नेपाललाई स्वास्थ्य सामग्री पुर्याएर फर्किए कतार र इत्तिहादका जहाज

काठमाडौं । कारोना भाइरस उपचार सम्बन्धी स्वास्थ्य सामग्री काठमाडौँ पुर्याएर कतार एयरवेज र इत्तिहाद एयरका जहाज स्वादेश फर्किएका छन । दुवै कम्पनीका वाइडबडी जहाजले अत्यावश्यक स्वास्थ्य सामग्री पुर्याएर स्वदेश फर्किएका हुन ।

कतारी शेख अमीर तमीम बिन हमाद अल–थानीले नेपाललाई सहयोग स्वरुप प्रदान गरेको ८ टन स्वास्थ्य सामग्री बोकेर कतार एयरवेजको जहाज दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।

त्यस्तै इत्तिहादको जहाज पनि साँझ ५ बजे काठमाडौं विमानस्थलमा अवतरण गरेको थियो । संयुक्त अरब इमिरेट्स (युएई) ले पनि नेपाललाई करिब १२ टन स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।

विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले स्वास्थ्य सामग्री लिएर आएका दुवै जहाज गन्तव्यतर्फ फर्किएको बताएका छन । स्वास्थ्य सामग्री दुवै देशका नेपालस्थित राजदूतले विमानस्थलमा स्वस्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतलाई हस्तान्तरण गरेका थिए ।

कतारबाट ल्याइएको स्वास्थ्य सामग्री नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल–हेलले विमानस्थलमा हस्तान्तरण गरेका थिए मेडिकल सामानमा पिपिई सात हजार, पिसिआर टेस्ट कीट, एन ९५ मास्क, भिटिएम, सिआरआरटी मेशिन, सर्जिकल ग्लब्स, अक्सिजन प्लान्ट, प्रयोगशालायुक्त मोबाइल एम्बुलेन्सलगायतका १४ प्रकारका सामान छन् ।

युएईबाट पनि सोही प्रकृतिको स्वास्थ्य सामग्री ल्याइएको बताइएको छ । नेपालका लागि युएईका राजदूत सेइद हम्दन मोहम्मद अल नक्बीले स्वास्थ्य सामग्री स्वास्थ्य राज्यमन्त्री रावतलाई विमानस्थलमै बुझाएका हुन ।