रुकुमपश्चिममा १० दिनमा आइसोलेसनसहितको कोरोना विशेष अस्पताल

रुकुमपश्चिम । रुकुमपश्चिमको आठविसकोट नगरपालिकामा १० दिनमा कोरोना विशेष अस्पताल निर्माण गरेर आइसोलेसनकक्ष सञ्चालनमा ल्याइएको छ ।

सो कक्षको बिहीबार उद्घाटन गरिएको हो । संघीय सरकार र प्रदेश सरकारको नजर नपुगेको विकट ठाउँमा पनि १० दिनमै सुविधायुक्त अस्पताल निर्माण गरेर नगरपालिकाले प्रशंसनीय काम गरेको हो । देशका सबै पालिकाले यसरी नै तदारुकताका साथ भौतिक संरचना निर्माणलाई तीव्रता दिएपछि समृद्धि टाढा नभएको उदाहरणका रुपमा यसलाई लिइएको छ ।

श्रम सहकारीमार्फत जिल्लाका आठविसकोट, चौरजहारी र मुसिकोट नगरपालिकाले कोरोना भाइरसविरुद्ध लड्न आइसोलेसन निर्माण गरिएको हो ।

जिल्ला समन्वय समिति प्रमुख राजकुमार शर्माले १० दिनमै आठकोठाको सुविधायुक्त कोरोना विशेष अस्पताल आइसोलेसन निर्माण गरेको भन्दै प्रशंसा गरे ।

प्रमुख शर्माले जनताको सक्रियातामा नगरपालिकाले सुविधायुक्त आइसोलेसनकक्ष निर्माण गर्न सम्भव भएको भन्दै जनता र सरकार एकताबद्ध भएर मात्रै महामारी र विपत्तिको सामना गर्न सकिने बताए ।

शुरुमा १२ श्ययाको आइसोलेसन बनाउने भनिए पनि अहिले आइसोलेसनमा थप तीनसहित १५ श्यया राखिएको नगरप्रमुख गोर्खबहादुर केसीले जानकारी दिए । उनका अनुसार आइसोलेसनकक्षमा बिरामीका लागि छ सुविधासम्पन्न कोठा, स्वास्थ्यकर्मीको छुट्टै वार्ड तथा जनरल वार्ड र आइसीयू पनि राखिएको छ ।

प्रत्येक कोठामा अक्सिजन र तातोपानीको व्यवस्था भएको र अब कोरोना तथा कुनै पनि सरुवा रोगका बिरामीलाई सजिलै उपचार सेवा प्रदान गर्न सकिने नगरप्रमुख केसीको दावी छ ।