भारतमा बढ्दै कोरोना संक्रमण, एक हजार दुई सय १८ को मृत्यु, अमेरिकामा गुमाए ६५ हजारले ज्यान, विश्वभर ३४ लाखभन्दा बढी संक्रमित, करिब ११ लाख निको भए

एजेन्सी । विश्वभर महामरीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि तीव्र रुपमा बढदै गएको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार शनिबारसम्म ३७ हजार तीन सय ३६ लाई कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोनाका कारण भारतमा २४ घन्टामा ७१ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार दुई सय १८ पुगेको छ ।

गएको २४ घन्टायता भारतमा दुई हजार दुई सय ९३ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन । यी संंक्रमितहरूमध्ये नौ हजार नौ सय ५१ जना उपचारपछि निको भएर फर्किएका छन् । मन्त्रालयले दिएको जानकारीअनुसार हाल यहाँ २७ हजार ३८५ कोरोनाका संक्रमित विरामी अस्पतालमा उपचाररत रहेका छन् ।

भारतको महाराष्ट्र कोरोना भाइरसबाट अत्यन्त प्रभावित राज्यको रूपमा देखिएको छ । यहाँँ मात्र संक्रमितहरूको संख्या ११ हजार पाँच सय ६ पुगेको छ । महाराष्ट्रमा चार सय ८५ जनाले ज्यान गुमाएका छन् । एक हजार आठ सय ७९ उपचारपछि घर फर्किएको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

महाराष्ट्रपछि गुजरात संक्रमण दोस्रो स्थानमा रहेको छ । यहाँ चार हजार सात सय २१ संक्रमित छन् । गुजरातपछि यस भाइरसको संक्रमण तेस्रो स्थानमा दिल्ली रहेको छ ।

यस्तै शनिबारसम्म विश्वभर कोरोना संक्रमणबाट मर्नेको संख्या दुई लाख ३९ हजार ६ सय १५ पुगेको छ । विश्वभरमा यसको संक्रमणबाट ३४ लाख एक हजार तीन सय ५१ जना प्रभावित भएका छन । अहिलेसम्म करिब १० लाख ८४ हजार निको भएर घर फर्किएका छन ।

कोरोनाको सबैभन्दा ठूलो पीडामा अमेरिका देखिएको छ । अमेरिकामा कोरोनाबाट मर्नेको संख्या ६५ हजार नाघेको छ । यहाँ करिब ११ लाखभन्दा बढी मानिस प्रभावित भएका छन ।