अब पासबाहक सवारीलाई पनि काठमाडौंमा प्रवेश निषेध

काठमाडौं । सरकारले अब पासबाहक सवारी साधनलाई पनि उपत्यका प्रवेशमा रोक लगाएको छ । अत्यावश्यक सामान ढुवानीकर्ता र स्वास्थ्य उपचारका लागि आउने सवारीबाहेक अन्य पासबाहक सवारीलाई पनि अब नो यन्ट्री गरिएको छ ।

उपत्यकामा विभिन्न बहानामा दैनिक चार सय पास बोकेका सवारी र अन्य उपभोग्य सामग्री तथा उपचारका क्रममा करिब दैनिक १५ सय सवारी भित्रिने गरेका थिए । नागढुङ्गा, फरपिङ, मुड्खु, जगाती, जरसिङपौवालगायत कुनै पनि नाकाबाट अब पासको आधारमा काठमाडौं प्रवेश पाइने छैन ।

आजसम्म निर्वाध रुपमा भित्रिँदै आएका पासबाहक गाडीलाई अब धमाधम फर्काउन थालिएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ । दैनिक उपभोग्य सामग्री र स्वास्थ्य उपचारसम्बन्धी जोडिएका सवारीले भने प्रवेश पाउनेछन ।

विभिन्न नाकाबाट अहिले करिब १५ सय हाराहारीमा सवारी भित्रिने गरेका थिए । तींमध्ये पासबाहकको संख्या चार सय हुने गरेको थियो । ती गाडीमा चालक सहचालक र अन्य सवारी पासधारी जोड्दा दैनिक काठमाडौंमा चार हजार मानिस भित्रिने गरेको तथ्यांक महानगरीय प्रहरीसँग छ । अत्यावश्यक सामग्री ढुवानी गर्नेहरु बाहिरिने गरे पनि अन्य व्यक्तिहरु बाहिरिने नगरेकाले कडाइ गरिएको हो। काठमाडौं पनि कोरोना संक्रमणको उच्च जोखिममा भएकाले कढाइ गरिएको हो ।

मुलुकमा जारी लकडाउनको अवधि लम्बिँदै जाँदा काठमाडौँ उपत्यकामा मानिसको प्रवेश बढ्ने अवस्था देखिएकाले प्रहरीले नाका कडाइ गरेको जनाएको छ । राजधानीलाई सुरक्षित बनाउन सबैखालको सुरक्षा अपनाइन थालेको हो ।