सहिद परिवारलाई ५० लाख र सरकारी जागिर दिने योगी सरकारको घोषणा

एजेन्सी । भारतको उत्तर प्रदेश राज्यका मुख्य मन्त्री योगी आदित्यनाथले आफ्नो राज्य निवासी सेना र अर्धनैनिक बलमा कार्यरत जवानको सहादतमा उनको परिवारलाई ५० लाख रुपैयाँ दिने घोषणा गरेका छन ।

योसँग सहिद परिवारका एक सदस्यलाई सरकारी जागिर दिने पनि उनले बताएका छन । सहिदको सम्मानमा सडकको नामाकरण गरिने पनि बताइएको छ ।

जसअनुसार जम्मु कश्मिरको हंदवाडामा आतंकवादीसँग भएको मुठभेडमा सहिद भएका सीआरपीएफका जवान अश्विनी कुमार यादवको परिवारलाई पनि शासकीय प्राब्धानअनुसार सहायता दिइने छ । मुख्य मन्त्री योगी आदित्यनाथले ट्वीट गर्दै भनेका छन, ‘म सबै सहिदहरुमा पुनः नमन गर्दछु । म र पुरा देशलाई तपाईँहरुमाथि गर्व छ ।’

बुधबार समाजवादी पार्टीले जवानहरुको जात हेरेर उनका परिवारलाई सहयोग गर्ने गरिएको आरोप लगाएको थियो । सहिद भएका अश्विनी कुमारको परिवारलाई ५० लाख र परिवारका एक सदस्यलाई सरकारी जागिरको माग गरिएको थियो । त्यस लगत्तै योगी सरकारले यस्तो घोषणा गरेको हो ।