भारतको आन्ध्र प्रदेशमा औद्योगिक दुर्घटना, सातको मृत्यु, एक सय २० जना घाइते

अमरावती । भारतको आन्ध्र प्रदेशको एक पोलिमर उद्योगमा ग्यास चुहिएर भएको दुर्घटनामा सात जनाको मृत्यु भएको छ । दुर्घटनामा थप एक सय २० जना घाइते भएका छन् ।

बिहीबार बिहान विशाखापटनमको आरआर वेन्कटपुरममा रहेको एलजी पोलमर्सबाट स्टेराइन नामको ग्यास चुहिएको अधिकारीहरुले बताएका छन् । उक्त घटनापछि वरपरका पाँच गाउँ खाली गराइएको छ । आन्ध्र प्रदेशका मुख्यमन्त्री वाइएस जगन मोहन रेड्डीले दुर्घटनाका बारेमा अनुगमन गरेको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।

उनले उद्योग दुर्घटनाबाट पीडितको तत्काल उपचारको व्यवस्था गर्न र अरु क्षति हुनबाट जोगाउन जिल्लास्थित सम्बन्धित अधिकारीलाई निर्देश दिएका छन । प्रधानमन्त्री नरेन्द्र मोदीले पनि मुख्यमन्त्री जगन मोहनलाई फोन गरेर दुर्घटनालाई नियन्त्रणमा ल्याउन र उद्धार कार्यलाई तीव्रता दिन निर्देशन दिएक छन । केन्द्र सरकारले सम्पूर्ण सहयोग गर्ने वचन पनि मोदीले दिएको बताइएको छ ।

सन् १९८४ मा मध्यप्रदेशको भोपालमा पनि यस्तै औद्योगिक ग्यास चुहिएर ठूलो संख्यामा मानिसहरुको मृत्यु हुनुका साथै कैयौं मानिस घाइते भएका थिए ।