नेपालगञ्ज, उदयपुर र वीरगञ्जमा थप नमूना सङ्कलनका लागि सेनासहितको टोली परिचालन

काठमाडौं । कोरोना भाइरसका सङ्क्रमित सङ्ख्याको आधारमा हटस्पटका रुपमा देखिएका उदयपुर, नेपालगञ्ज र वीरगञ्जमा थप नमूना सङ्कलनका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको नेतृत्वमा नेपाली सेनासहितको टोली परिचालन गरिएको छ ।

कोरोनाको हटस्पटको रुपमा देखिएका क्षेत्र उदयपुरमा कम्तीमा पाँच सय, वीरगञ्ज र नेपालगञ्ज कम्तीमा एक-एक हजार जनाको नमूना संकलन गर्ने गरी टोली खटाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिएका छन ।

सरकारले हालसम्म १४ हजार पाँच सय नौ व्यक्तिमा रियल टाइम पोलिमरेज चेञ्ज रियाक्सन (पिसिआर) विधिबाट कोभिड–१९ को परिक्षण गरेको छ । ¥यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) विधिबाट ५४ हजार ९३ नमूना परीक्षण गरेको छ । गत २४ घण्टामा थप एक हजार चार सय ५१ वटा परीक्षण भएका छन् ।

हालसम्म क्वारेन्टाइनमा बस्नेको सङ्ख्या १७ हजार तीन सय ७२ छ । अहिलेसम्म आइसोलेशनमा एक सय ३३ जना छन् । तीमध्ये काठमाडौँ उपत्यकामा तीन छन् भने उपत्यका बाहिर एक सय ३० जना छन् ।