कोरोना कहरः विश्वभर मर्नेको संख्या दुई लाख ७६ हजार नाध्यो, भारतमा ६० हजार संक्रमित, अमेरिकामा ७८ हजारको मृत्यु, नेपालमा बढ्दै संक्रमण

एजेन्सी । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट शनिबार विहानसम्म दुई लाख ७६ हजार दुई सय ३५ जनाको मृत्यु भएको छ । यसबाट संसारभर ४० लाख १४ करिब संक्रमित भएका छन । यसमध्ये १३ लाख ८५ हजार ४ सय १२ जना निको भएका छन ।

आजसम्म सबैभन्दा बढी क्षति अमेरिकामा भएको छ । यहाँ मृतकको संख्या ७८ हजार नाघेको छ । विश्वको करिब एकतिहाई अर्थात १३ लाख २१ हजारभन्दा बढी मानिस अमेरिकामै संक्रमित भएका छन ।

यता खुला सीमा नाका भएको भारतमा कोरोना भाइरस संक्रमण द्रुत गतिमा बढ्दै गएकोछ । एकै दिन ३३ सय २० जनासम्ममा यसको संक्रमण देखिन थालेको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार वितेको २४ घन्टामा भारतमा तीन हजार तीन सय २० जनामा संक्रमण र ९५ जनाको मृत्यु भएको छ ।

शनिबार विहानसम्म भारतमा ५९ हजार ६ सय ६२ जनाभन्दा बढीमा संक्रमण देखिएको छ । यहाँ आजसम्म एक हजार नौ सय ८१ जनाले ज्यान गुमाइसकेका छन । भारतमा निको हुनेको संख्या १७ हजार आठ सय ४७ पुगेको छ ।

यता नेपालमा कोरोना संक्रमितको संख्या बढेर एक सय नौ पुगको छ । त्यसमध्ये ३१ जना निको भएर घर फर्किएका छन । शनिबार मात्रै थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुरमा ३, कपिलवस्तुमा ३ र पर्सामा एक जनामा संक्रमण पुष्टि भएको हो ।

उदयपुरका १८, ४५ र ६५ वर्षका महिला छन । कपिलवस्तुमा १७ र १८ वर्षका पुरुष र पर्सामा भेटिएका नयाँ संक्रमित ६२ वर्षका पुरुष भएको बताइएको छ ।