खुल्यो काँकडभिट्टा नाका

झापा । काँकडभिट्टास्थित पूर्वी नाका एक महिनापछि आजदेखि खुलेको छ । चैत २६ गतेदेखि भारतको पश्चिम बङ्गाल प्रान्तीय सरकारले एकतर्फीरुपमा पानीटंकी नाका बन्द गरेको थियो । नाका बन्द भएपछि आयातनिर्यात ठप्प भएको थियो ।

मेची भन्सार कार्यालयका प्रमुख ध्रुव विश्वकर्माका अनुसार भारतबाट आज ३० मालवाहक गाडी नेपाल भित्रिएका छन । उनका अनुसार सीमावर्ती पानीट्यांकीस्थित भारतीय भन्सार कार्यालयले नाका खुलेको जानकारी दिएको छ ।

नेपाल इन्टरमोडल यातायात विकास समिति काँकडभिट्टा सुख्खा बन्दरगाहका प्रमुख अम्बिका सुवेदीले आज नेपाल प्रवेश गरेका ३० गाडीमध्ये २५ मा कोइला र अरु पाँच गाडीको सिल खोल्न बाँकी रहेको बताए । तीभध्ये २५ मालवाहक गाडी पहिलेदेखि नै भन्सार परिसरमा रहेका थिए ।

कोभिड– १९ को सङ्क्रमण फैलिन थालेको जनाउँदै भारतको पश्चिम बंगाल सरकारले एकतर्फीरुपमा भन्सार बन्द गरेपछि भारतीय मार्ग हुँदै नेपाल आउने अत्यावश्यक मालसामानको आयात रोकिएको थियो । कोलकत्ता बन्दरगाह र सिलगढीमा नेपाली सामान रोकिएको थियो । पेट्रोलियम पदार्थ बोक्ने ट्यांकरसमेत विराटनगरको सीमापारि जोगवनी नाकाबाट भित्रिएर झापा आउने गरेका थिए ।

भारतीय भन्सार कार्यालयले नेपालबाट खाली गाडी फर्किन नदिने मौखिक जानकारी दिएको जनाउँदै मेची भन्सार कार्यालयका प्रमुख विश्वकर्माले सामान अनलोड गरेपछि ती गाडी कसरी फर्काउने भन्ने विषयमा अन्योल रहेको बताए । खाली गाडीलाई पानीट्यांकी नाकाबाट जान नदिने हो भने नेपालबाट पेट्रोलियम पदार्थ लिन जाने खाली ट्यांकरमा समेत अवरोध पुग्ने उनले बताए ।