लकडाउनमा ११ जना चोर पक्राउ

काठमाडौं । कोरोना भाइरसको जोखिम फैलन नदिन लकडाउन गरिरहेका बेला महानगरीय प्रहरीवृत्त बौद्धले चोरीमा संलग्न ११ जनालाई पक्राउ गरेको छ ।

गत चैत ११ गतेदेखि लकडाउन शुरु भएयता बौद्ध क्षेत्रको विभिन्न स्थानबाट चोरीमा संलग्न दुई महिलासहित नौ पुरुषलाई पक्राउ गरी मुद्दा चलाएको वृतले जनाएको छ ।

वृत्तका प्रहरी नायब उपरीक्षक नवीन कार्कीका अनुसार विभिन्न बन्द होटल, रेस्टुराँ, पसल तथा कोठामा चोरी हुन थालेको उजुरीपछि प्रहरीले गस्ती बढाएको थियो ।

लकडाउनको मौका छोपी चोरी गर्नेलाई पक्राउ गरी अनुसन्धनपश्चात् कानूनी कारवाही अघि बढाइएको प्रहरीले जनाएको छ । ती मध्ये कोही बालबालिका समेत रहेका छन् ।