लिपुलेक समस्याको समाधान कूटनीतिक पहलबाट हुनुपर्ने राष्ट्रियसभाका सांसदको जोड

काठमाडौं । लिपुलेक क्षेत्र मिचिएको समस्या जतिसक्दो चाँडो कूटनीतिक पहलबाट समाधान गर्नुपर्नेमा राष्ट्रियसभाका सांसदहरुले जोड दिएका छन् ।

राष्ट्रियसभाको सोमबारको बैठकमा आर्थिक वर्ष २०७७÷०७८ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) को छलफलमा भाग लिँदै उनीहरुले सरकार र सबै नेपालीलाई राष्ट्रियताका पक्षमा उभिन आग्रहसमेत गरे ।

सांसद चक्रप्रसाद स्नेहीले कूटनीतिका पहलबाट लिपुलेकको समस्या समाधान गर्नुपर्ने बताउँदै भारतका विभिन्न शहरमा रहेका नेपालीलाई स्वदेश ल्याउनेतर्फ सरकारको ध्यानाकर्षण गराए ।

सांसद रामलखन चमारले कृषि क्षेत्रमा सबैभन्दा बढी योगदान गर्ने महिलाका लागि बजेटमा अनुदानको व्यवस्था गर्नुपर्ने बताए । सांसद प्रकाश पन्तले भारतले गरेको जे पनि सहन नसक्ने बताए ।

सांसद उदया शर्मा पौडेलले कोरोनाबाट प्रभावितलाई राहत वितरण गर्दा एकद्वार प्रणालीबाट गर्नुपर्नेमा जोड दिए । सांसद डा विमला राई पौडेलले आगामी बजेटको प्राथमिकतामा कोभिड–१९ लाई जोड दिनुपर्ने विचार व्यक्त गरे । सांसद नैनकला ओझा र विना पोखरेलले किसानलाई प्राथमिकता दिने खालको बजेट ल्याउनुपर्नेमा जोड दिए ।