भारतीय पूर्वप्रधानमन्त्री सिंह अस्पताल भर्ना

एजेन्सी । भारतका पूर्वप्रधानमन्त्री डा मनमोहन सिंह अस्वस्थ्य भएपछि अस्पताल भर्ना भएका छन । स्वास्थ्यमा असहजता भएपछि उनलाई आइतबार राति नै भारतको राजधानी नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस् ऐम्समा भर्ना गरिएको समाचारहरुमा जनाइएको छ ।

उनी अस्पताल भर्ना भएको अस्पतालले पुष्टि गरेको छ । छाती दुखेर असहज महसुश भएपछि उनलाई भर्ना गरिएको अस्पतालले प्रकाशन गरेको विज्ञप्तिमा जानकारी दिइएको छ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार पूर्वप्रधानमन्त्री सिंहलाई ऐम्स अस्पतालको मुटुरोगसम्बन्धी समस्या देखिएकोले अस्पतालको मुटु रोग विभागमा राखेर उपचार सुरु गरेको छ ।

पूर्वप्रधानमन्त्री सिंहको प्रारम्भिक जाँचका क्रममा स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । उनी ८७ वर्षका भए । पूर्वप्रधानमन्त्री सिंहको शारीरिक अवस्था सामान्य रहेको अस्पताल स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । यसअघि पनि डा सिंहको मुटुको वाइपास सर्जरी गरिएको थियो । सन् २००९ मा उनको मुटुको वाइपास सर्जरी भएको सो अस्पतालले जानकारी दिएको छ ।

यसपटक छाती दुखेपछि उनलाई आइतबार राति अस्पताल ल्याइएको र अहिले स्वास्थ्य अवस्था सामान्य नै रहेको सो अस्पतालले सोमबार बिहान प्रकाशन गरेको विज्ञप्तिमा जानकारी दिइएको छ ।