एजेन्सी । कोरोना भाइरसका कारण विश्वभर दुई लाख ८४ हजारभन्दा बढीको मृत्यु भएको छ । संक्रमितको संख्या ४२ लाख सात सय ९० पुगेको छ ।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार सोमबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा तीन हजार पाँच सय १० जनाको ज्यान गएको छ । अघिल्लो दिन ४ हजार दुई सय ४८ जनाको मृत्यु भएको थियो ।
विश्वभर करिब ४७ हजार मानिसको स्वास्थ्य अवस्था कोरोनाभाइरसबाट अत्यन्त जटिल रहेको छ भने २३ लाख ६५ हजार अर्थात् करिव ९८ प्रतिशतको अवस्था सामान्य छ ।
पछिल्लो विवरण अनुसार युरोपेली मुलुकहरुमध्ये बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । बेलायतमा ३१ हजार आठ सय ५५ जनाको मृत्यु भइसकेको छ ।
संयुक्तराज्य अमेरिकामा मृत्युदरमा उतारचढाव यथावत छ । पछिल्लो २४ घण्टामा अमेरिकामा सात सय ५० जनाको ज्यान गएको छ जबकी अघिल्लो दिन यहाँ १ हजार ४२२ जनाको मृत्यु भएको थियो । योसहित अमेरिकामा मृत्यु भएका व्यक्तिको कूल संख्या ८० हजार सात सय ८७ नाघेको छ ।
कोरोनाभाइरसबाट सर्वाधिक दैनिक मृत्युदर रहेका इटाली, स्पेन र फ्रान्समा २४ घण्टाको अवधिमा अघिल्लो दिनको झैं सामान्य रहेको छ । विगत २४ घण्टामा इटालीमा एक सय ६५, स्पेनमा एक सय ४३ र फ्रान्समा ७० जनाको ज्यान गएको छ ।
यता भारतमा संक्रमितको संख्या ६७ हजार दुई सय ५९ भन्दा बढी पुगेको छ । दुई हजार दुई सय १२ जनाको मृत्यु भएको छ भने भारतमा २० हजार नौ सय ६९ जना उपचार पछि घर फर्किएका छन ।
नेपालमा दिन दिनै संक्रमितको संख्या बढ्दै गएको छ । राजधानीमा लकडाउन केही खुकुलो गरे पनि देशमा एकै दिन ११ जनासम्म संक्रमित बढिरहेका छन । सोमबार मात्रै थप ११ जना संक्रमित पुष्टि भएको हो । हालसम्म ३३ जना उपचार पछि घर फर्किएका छन ।