आजबाट सेयर बजार खुल्ने

काठमाडौं । कोरोना भाइरसको जोखिमसँगै जारी लकडाउनले बन्द रहेको सेयर बजार आजदेखि खुल्ने भएको छ ।

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ का कारण गत १० चैतबाट सेयर बजार बन्द भएको थियो । ५० दिनको अन्तरालपछि बजार खुल्न लागेको हो ।

सरकारले लकडाउन खुकुलो बनाएर बैंक तथा वित्तीय क्षेत्र, बिमा र धितोपत्र तथा सहकारी संस्थामार्फत हुने अति आवश्यक सेवा प्रवाह गर्न दिने निर्णय गरेसँगै सेयर बजार सुचारु हुन लागेको हो । असामान्य परिस्थितिलाई मध्यनजर गर्दै सेयर बजारबाटै आफ्नो दैनिकी चलाउँदै आएका लगानीकर्तालाई ध्यानमा राखेर अनलाइनमार्फत मात्रै कारोबार हुने सेयर बजार खोल्न लागिएको नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिह साउदले बताए ।