नेपालमा एकै दिन ५७ जनामा कोरोना, संक्रमितको संख्या एक सय ९१ पुग्यो

काठमाडौं । केही दिनयता नेपालमा कारोना भाइरस संक्रमितको संख्या बढ्दै गएको छ । सोमबार दुई दर्जनमा कोरोना संक्रमण पुष्टि भएलगत्तै मंगलबार एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज पुष्टि भएका मध्ये पर्सामा ३९ जना कपिलवस्तुमा ८, रुपन्देहीमा ९ र बारामा १ जनामा करोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सह प्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक सय ९१ पुगेको हो । आजसम्म ३३ जना भने उपचारपछि घर फर्किएका छन ।

विश्व स्वास्थ्य संगठनले नेपालमा कोरोना संक्रमण बढ्नसक्ने प्रक्षपण गर्दै लकडाउन नहटाउन आग्रह गरेको छ । तर आइतबारदेखि वित्तिय संस्थाको सहजताका नाममा सरकारले राजधानी लगायतका स्थानमा लकडाउन खुकुलो बनाएको छ । जसले संक्रमणको खतरा बढेको देखिनछ ।