लकडाउन पुनः कठोर हुने, प्रधानमन्त्रीले भनेः काठमाडौमा लकडाउन छ र ?

काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकमा लकडाउनको प्रसंग नै थिएन । तर प्रधानमन्त्री केपी शर्मा ओलीले ‘काठमाडौंमा लकडाउन छ र ?’ भन्ने वाक्यांसबाटै आफ्नो भनाइ सुरु गरेका थिए ।

मन्त्रिपरिषदको वैठकमा सहभागी एक मन्त्रीले भने, ‘पछिल्ला दिनमा खुकुलो बनाइएको लकडाउनप्रति प्रधानमन्त्रीज्यूले असन्तुष्टि जनाउनुभयो । उहाँले अहिलेको अवस्थालाई लकडाउन भनिदैन भन्दै असन्तुष्टि जनाउनुभयो ।’

सरकारी कार्यालय, बैंक र वित्तिय संस्थाको स्वार्थलाई हेरेर गरिएको खुकुलोपनप्रति प्रधामन्त्री निकै असन्तुष्ट रुपमा प्रस्तुत भएको बताइएको छ । प्रधानमन्त्रीले लकडाउन कडा पार्न तत्काल कदम चाल्न पनि उच्चस्तरीय समन्वय समितिलाई निर्देशन दिएका छन ।

‘आर्थिक गतिविधि र व्यवसाय सिद्धिने नाममा लकडाउन खुकुलो भएपछि कुनै अर्थ हुन्न । जीवन रहे पो अर्थतन्त्र पनि जोगिएला । सुनको बाक्सामा मान्छे राखेर के गर्नु, मरेपछि त सक्किगो नि ।’ बैठकमै बीचमा थप ५७ जनामा संक्रमण पुष्टि भएको सूचना पुगेपछि प्रधानमन्त्रीले पछिल्लो संक्रमणको संख्याले लकडाउनमा खेलाँची गर्न नहुने बताए ।

उच्चस्तरीय समितिको सुझावका आधारमा वैंक वित्तीय संस्था र अत्यावश्यक सेवाका उद्योगहरु खोल्न दिइँदा लकडाउन औचित्यहीन भएको बताउँदै प्रधानमन्त्रीले भने, ‘यस्तोलाई लकडाउन भनिदैन, तुरुन्त कठोर कदम चाल्नुस ।’

प्रधानमन्त्रीको असन्तुष्टि र निर्देशनपछि बैंक, वित्तिय संस्था र केही उद्योगको पक्षमा गरिएको निर्णय फिर्ता हुने सम्भावना बढेको छ । आजै उच्चस्तरीय समितिको बैठक बसेर लकडाउन कडा पार्ने बारे छलफल हुने बताइएको छ ।