भारतमा संक्रमितको संख्या ७० हजार नाघ्यो, २२ सय ९३ को मृत्यु

स्वदेश ल्याउँदै नागरिक

एजेन्सी । भारतमा कोरोना भाइरस संक्रमितको संख्या मंगलबारसम्म ७० हजार सात सय ५६ पुगेको छ । संक्रमणबाट गएको २४ घन्टायता ८७ जनाको मृत्यु भएको बताइएको छ । २४ घण्टामा मात्र ३ हजार ६ सय पाँच जना कोरोना भाइरस संक्रमित थपिएको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

भारतमा यस प्रकोपबाट मृत्यु हुनेहरूको सख्या २ हजार दुई सय ९३ जना पुगेको छ । यस संक्रमणबाट निको भएका विरामीको संख्या २२ हजार चार सय ५४ जना रहेको मन्त्रालयले जनाएको छ । भारतमा ४६ हजारभन्दा बढी संक्रमितहरू अस्पतालमा उपचार गराइरहेका छन् ।

कोभिड–१९ बाट सबैभन्दा बढी महाराष्ट्रका नागरिक संक्रमित भएका छन् । यहाँमात्र २३ हजार चार सय नागरिक कोरोना भाइरस संक्रमित छन् । यस संक्रमणबाट महराष्ट्रमा आठ सय ६८ को मृत्यु भएको छ । महाराष्ट्रपछि गुजरात दोस्रो स्थानमा रहेको छ । त्यहाँ आठ हजार पाँच सय ४१ संक्रमित छन् । यहाँ यस संक्रमणबाट भने पाँच सय १३ जनाको मृत्यु भएको छ ।

त्यसैगरी तामिलनाडूमा यसबाट ८ हजार भन्दा बढी मानिस संक्रमित भएका छन् । यहाँका ५३ जनाको ज्यान गएको छ । दिल्लीमा कोरोना भाइरसको संक्रमणबाट सात हजार सात सय ३३ जना विरामी छन् । यहाँ ७३ जनाको ज्यान गएको छ ।

संक्रमण फैलिने क्रम नरोकिएपछि भारत सरकारले देशव्यापी लकडाउनलाई थप दुइ साताको लागि लम्बाएको छ । भारतले शुक्रबार मे ४ देखि लागू हुने गरी थप दुइ साताको लागि तेस्रो चरणको लकडाउन गर्ने निर्णय गरेको थियो । भारतमा पहिलो चरणको लकडाउन २४ मार्चमा लगाइएको थियो । दोस्रो लकडाउन १५ अप्रिलमा शुरु भएको थियो । दोस्रो लकडाउन मे ३ मा सकिदै थियो । कोरोना भाइरसको संक्रमण देशभरी बढ्दै गएपछि दोस्रो लकडाउन नसकिदै तेस्रो लकडाउन मे १७ सम्मको लागि घोषणा गरिएको छ।

स्वदेश ल्याउँदै नागरिक
भारतले विभिन्न देशमा रहेका आफ्ना नागरिक ‘वन्दे भारत’ मिशन अन्तर्गत स्वदेश फिर्ता ल्याइरको छ । एयर इन्डिया र उसको सहायक एयर इन्डिया एक्सप्रेसमार्फत सात मे बाट हालसम्म ६ हजार ७ नागरिक स्वदेश ल्याइसको छ ।

मेरिका, लन्डन, बंगलादेश, सिंगापुर, साउदी अरब, कुवेत, फिलिपिन्स, यूएईलगातका १२ देशमा ६६ उडानमार्फत थप १४ हजार ८ सय नागरिक ल्याउने तयारी भारतले गरिरहेको भारतीय मिडियाले जनाएका छन ।