साउदीमा ६ सय ७४ नेपाली कोरोना सङ्क्रमित, एकको मृत्यु

एजेन्सी । साउदी अरेबियामा कोरोना भाइरसको संक्रमणबाट एक जनाको ज्यान गएको छ । ६ सय ७४ नेपालीमा सङ्क्रमण देखिएको छ ।

नेपालको प्रमुख श्रम गन्तव्य मुलुक साउदीको पूर्वी क्षेत्रमा तीन सय ३६, पश्चिम क्षेत्रमा एक सय ४८, रियादमा क्षेत्रमा एक सय ७५, कसिम र हायल क्षेत्रमा तीन, तीन तथा अन्य स्थानमा नौ नेपालीमा सङ्क्रमण देखिएको साउदी स्वास्थ्य मन्त्रालय र विदेश मन्त्रालयले जनाएको छ । साउदीको पूर्व क्षेत्रमा नेपाली श्रमिकको बाक्लो उपस्थिति छ ।

सङ्क्रमितमध्ये कैयौँ निको भई काममा फर्किसकेको रियादस्थित नेपाली दूतावासले जनाएको छ । सङ्क्रमितमध्ये एक जनाको मृत्यु भएको साउदी सरकारले पुष्टि गरेको छ ।

साउदीमा कोरोना सङ्क्रमितको सङ्ख्या ४२ हजार नौ सय २५ पुगेको छ । सङ्क्रमितमध्ये हालसम्म १५ हजार दुई सय ५७ निको भएका छन् । साउदीमा हालसम्म दुई सय ६४ को मृत्यु भएको छ ।