कोरोना त्रासका बीच पनि खेतीपातीमा जुटे किसान

लम्की, कैलाली । नेपाल कृषि प्रधान देश हो । कोरोनाको कहरपछि त झन आसा गर्न सकिने एउटा क्षेत्र भनेकै कृषि हो । एकातिर कोरोनाको त्रास छ, अर्कोतिर भोकमरी लाग्ने हो कि भन्ने चिन्ता । यही चिन्ता र त्रासकाबीच यहाँका किसान खेतीपातीको तयारीमा जुटेका छन् । यस क्षेत्रका किसान धानको बिऊ राख्ने समय नजिकिएपछि सामाजिक दूरी कायम गर्दै कुलो खन्ने कार्यमा जुटेका हुन् ।

धानको बिऊ राख्न र खेती गर्नका लागि पानीको जोहो गर्न कैलालीको टीकापुर नगरपालिका र जानकी गाउँपालिकाका किसान कुलो र नाला खन्ने तथा सरसफाइ गर्ने काममा लागेका हुन । खेती गर्ने समयमा पर्याप्त पानी खेतसम्म पु¥याउन किसानले हरेक वर्ष कुलो खन्ने काम गर्छन् ।

ुकुलो तथा नाला सरसफाइ नगरिए सिँचाइको व्यवस्था हुँदैनु, किसान सुधराम चौधरीले भने, ‘देश लकडाउनमा छ तर कृषिकार्य गर्न किसानले काम गर्ने समय यही हो, त्यसैले सामाजिक दूरी कायम गर्दै काम गर्न थालेका छौँ ।’

किसानहरुका अनुसार धानखेती गर्न सजिलोका लागि किसानले यो सिजनमा वर्षेनी कुलो खन्ने, नाला सरसफाइ गर्ने गर्दछन् । टीकापुर नगरपालिका वनगाउँका किसान पनि बुधबारदेखि गाउँको कुलो सरसफाइमा जुटेका छन् ।

धानखेती गर्ने समयमा पर्याप्त पानी खेतसम्म लैजानका लागि एक सय ५० किसानले श्रमदानसहित गाउँको कुलो खन्न थालेका हुन् । कोरोनाको महामारी, लकडाउनसँगै खेतीपातीको काम गर्न किसानलाई सहज छैन । सहज नभए पनि पानीबिना खेती गर्न नसकिने भएकाले किसान व्यक्तिगत सुरक्षाका उपाय अपनाएर सामाजिक दूरी कायम गर्दै काम गर्न थालेको वनगाँउका बड्घर पहारुलाल चौधरीले जानकारी दिए ।

टीकापुर–१ विपतपुरका किसान पनि पाँच दिनदेखि गाउँको कुलो खन्ने कार्यमा जुटिसकेका छन् । एकै कुलोको पानी धेरै गाउँका किसानले प्रयोगमा ल्याउने भएकाले कुलो सरसफाइ नगरे पानी सबैलाई पुग्दैन । यहाँका सिँचाइ कुलोहरु एक गाउँ हुँदै अर्को गाउँसम्म पुगेका छन् । कुला सरसफाइ अभियानमा दुई वा तीन गाउँसम्मका किसान सहभागी हुनुपर्ने हुन्छ । तर यो वर्ष कोरोनाको जोखिम भएकाले आ–आफ्नो क्षेत्रमा कुलो खन्ने सहमति भएको छ । ‘विपतपुरमा पनि पाँच दिनदेखि कुलो खन्ने काम शुरु भएको छ’, विपतपुरका बड्घर वीरबहादुर घर्तीमगरले भने ।

पानीको अभाव भए धान उत्पादनमा कमी आउने किसान बताउँछन् । धान उत्पादन बढी लिनकै लागि किसान कुलोको व्यवस्थापन गर्ने र सरसफाइ गर्ने कार्यमा जुटेका हुन् । कतिपय गाउँका किसान लकडाउन, कोरोनाको जोखिममा जनश्रमदान मात्र नभइ मेसेनरी औजारको प्रयोग गरेर भए पनि कुलो खन्ने, सरसफाइ गर्ने कार्य गरिरहेका छन् ।