परशुराम नगरपालिकामा सेवाग्राहीलाई कडाइ, सामान्य कामका लागि नगरपालिका नधाउन सूचना जारी

डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिकाले अत्यावश्यक कामका लागि मात्र कार्यालय खुला रहने जनाएको छ ।

अति आवश्यक कामबाहेक सामान्य कामकाज र सोधपुछका लागि कार्यालय नआउन पनि सेवाग्राहीलाई नगरले सूचना जारी गरेको छ । अति आवश्यक कामका लागि आउनेहरुले पनि अनुमति लिएर मात्र प्रवेश पाउने र उनीहरुले साबुनपानीले हात धोएर, मास्क लगाएर एक पटकमा एक जना मात्रै प्रवेश गर्न प्रमुख प्रशासकीय अधिकृत तारानाथ पनेरुद्वारा जारी सूचनामा जनाइएको छ ।

नगरका विभिन्न क्षेत्रमा लकडाउन भने केही खुकुलो देखिएकोमा स्थानीयले चिन्ता जनाएका छन । परशुराम नगरपालिकाका मेयर भीमबहादुर साउदको पहलमा भारतको टनकपुरस्थित क्वारेन्टाइनबाट छोडिएका २६ जनालाई परशुराम नगरपालिका र ४ जनालाइई आलिताल गाउँपालिकामा ल्याइएको छ ।

उनीहरुलाई महेन्द्रनगरबाट उद्दार गरेर ल्याइएको हो । तीमध्ये २६ जनालाई त्रिवेणी क्वारेन्टाइनमा राखिएको नगरपालिकाले जनाएको छ । बाँकी चार जनालाई आलिताल गाउँपालिकाको जिम्मा लगाइएको छ ।

भारतमा रहेका मानिस नगरमा भित्रिन थालेपछि उच्च सजगता नअपनाइए जोखिम बढ्ने हो कि भन्ने चिन्ता नगरबासीमा भएको स्थानीयले बताए ।

यता नगरमा बुधबार त्रिवेणी बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टाइनमा राखिएका ४७ जनाको स्वाब परीक्षण गर्दा सबैको पिसिआरु टेस्ट नेगेटिभ देखिएको नगरपालिकाले जनाएको छ ।