सरकारको नीति तथा कार्यक्रमः राहतको आसामा आहत

O अक्षरपाटी विशेष

काठमाडौं । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले मास्क लगाएरै संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिन । जुन महामारीका कारण उनको मुखमा मास्क लगाइएको थियो, त्यस महामारीका कारण समस्यामा परेका जनताप्रति भने खासै आसलाग्ने कार्यक्रम भने उनले पढेको नीति तथा कार्यक्रममा समेटिएको थिएन । बरु जुन देशमा बस्यो त्यस देशको नियम, कानुनको पालना गर्नुपर्छ भन्ने सामान्य ज्ञानको फेहरिस्त उनले संसदमा प्रस्तुत गरिन ।

६३ पृष्ठ लामो नीति तथा कार्यक्रममा केही स्वास्थ्य क्षेत्रमा सुधारका परिकल्पनाहरु भने प्रस्तुत थिए । तर विशेष जोड दिइएको कानुनी राज्यको पालनाको परिकल्ना राष्ट्रपतिले प्रस्तुत गरिरहँदा सांसद अपहरण गर्नेलाई पनि उजुरी समेत नलाग्ने अवस्थाको स्मरण सुन्ने सबैले गरिरहेका थिए ।

राष्ट्रपतिले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा गत वर्षको भाषा ‘मेरो सरकार’लाई यसपटक ‘नेपाल सरकार’ भनेर सम्बोधन गर्नुलाई उपलब्धी मान्नुपर्ने काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गर्दै व्यंग्य गरेका छन । उनले कोरोना केन्द्रित मुख्य ६ कुरामा ढुक्क बनाउन ‘हाम्रो सरकार’को अनुभुती गराउन नीति तथा कार्यक्रम चुकेको धारणा सार्वजनिक गरेका छन । उनले व्यापक परिक्षण, पर्याप्त स्वास्थ सामग्री, पर्याप्त राहत, सिमामा अलपत्रलाई स्वदेश प्रवेश, ब्यवस्थित क्वारेन्टाइन र बिदेशमा अफ्ट्यारोमा रहेकाको उद्दारबारे नीति तथा कार्यक्रम मौन रहेकोमा असन्तुष्टि जनाएका छन ।

नेपाली काँग्रेसका नेता एनपी साउदले सरकारको नीति तथा कार्यक्रम सुन्न र पढ्नका लागि लामो निबन्धजस्तो, केही परिकल्पना रमाइला भए पनि देश लामो समयदेखि कोरोनाको त्रासमा रहेको र कोरोनाको त्रासका कारण मुलुक दुई महिनादेखि लकडाउनको अवस्थामा भए पनि सरकारले यसको पीडालाई कहीँ कतै ठोस सम्बोधन गर्न नसकेकोप्रति असन्तुष्टि व्यक्त गरे ।

काँग्रेस नेता गगन थापाले व्यंग्यात्मक ट्वीट गर्दै अब डर हराएको बताएका छन । उनले लेखेका छन, ‘नीति तथा कार्यक्रम आउनु अगाडि डराएको थिएँ । अब ढुक्क भएँ । कोरोनाले नेपालमा खासै प्रभाव नै पारेको रहेनछ । ढुकुटी पनि दह्रै रहेछ । साधनस्रोत प्रशस्तै रहेछ । ठिकठाक मात्र हैन यो वर्ष त देशमा चमत्कार नै हुने रहेछ । देश परदेशमा भएको कोही पनि आतिनु पर्ने रहेनछ । सरकार त पाएकै हो । धन्यवाद मेरो सरकार ।’

काँग्रेसका नेता रमेश लेखकले सामाजिक सञ्जालमा धारणा सार्वजनिक गर्दै भनेका छन, ‘नेपाल सरकारको नीति कार्यक्रम एक वर्षको नीति भन्दा दुई पञ्चवर्षीय योजनाको काल्पनिक घोषणा जस्तो लाग्यो । आत्मप्रशंसा र आत्मरतिले भरियको, कोरोनाको तत्कालिन र दीर्घकालिन प्रभाव सम्बोधन गर्न असफल छ । यो सरकारको सबै काम गर्ने भाषण तर केहि नगर्ने व्यवहारको निरन्तरता हो । एक लामो दिक्क लाग्ने निबन्धका रूपमा परिणीत नहोस।’

त्यस्तै काँग्रेस नेता नैनसिंह महरले राष्ट्रियताको विषप्रति टिप्पणी गरेका छन । उनले लिम्पियाधुरा नेपालको भनेर महामहिम राष्ट्रपतिको मन्तव्य आउँदैमा सिंगो संसद दंग हुनु पर्दैन भन्दै लेखेका छन, ‘किन भने त्यो भूमी सत्य र तथ्यपरक रुपले पनि नेपालकै हो । संसदको गढगडाहट त्यस दिन गरिमामय हुनेछ, जुन दिन दुवै छिमेकीसँग वार्ताबाट समस्या सामाधान गरेर नेपालको नक्शामा लिम्पियाधुरा देखिने छ ।’