कोरोनासँग लड्न काँग्रेस नेता शाहले गरे कर्णाली प्रदेशमा एक करोड बराबरको सहयोग

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कारोना संक्रमणबाट नेपाल पनि पिरोलिरहेको छ । शंकटको यो अवस्थामा विकासको दृष्टिले पछि परेको कर्णाली प्रदेश झन बढी आक्रान्त छ । यस्तो बेला कोरोनासँग लडनका लागि नेपाली काँग्रेसका नेता तथा पूर्व सांसद राजीबविक्रम शाहले करिब एक करोड बराबरको सहयोग उपलब्ध गराएका छन ।

शाहको नेतृत्वमा रहेको कुमारी ट्रष्टको पहलमा कर्णालीको सुर्खेतस्थित प्रदेश अस्पताललाई भेन्टिलेटरसहित ७० लाख बराबरको स्वास्थ्य सामग्री र प्रदेशका अन्य आठ जिल्लाका अस्पताललाई तीन तीन लाख बराबरको गरि ३० लाख बराबरको स्वास्थ्य सामग्री सहयोग गरिन लागेको शाहले अक्षरपाटीलाई बताए । विभिन्न समसामयिक विषयमा वहस, पिछडिएका क्षेत्रमा स्वास्थ्य, शिक्षा र नेपालका मौलिक सँस्कृतिको प्रवद्र्धन र जगेर्ना गर्ने उद्देश्यले कुमारी ट्रष्ट स्थापना गरिएको हो ।

विदेशीको सहयोग नलिई आफ्नै पहलमा संचालन गरिएको ट्रष्टले विदशमा रहेका नेपालीलाई आह्वान गरेर सहयोग जुटाएको शाहले बताए । ‘ट्रष्टले पहिलोपटक आह्वान गरेर दुःखमा परेका नेपालीलाई सहयोग गर्न चाहने नेपालीबाटै सहयोग जुटाएर कर्णालीको स्वास्थ्य क्षेत्रमा उक्त सहयोग गर्न सम्भव भएको हो,’ नेता शाहले अक्षरपाटीलाई बताए ।

तर पछिल्लो राजनीतिक वातावरण नै समाजमा केही गर्छु भन्ने भावना भएकालाई पनि गर्न नदिने खालको बनकोप्रति नेता शाहले असन्तुष्टि जनाए । कर्णाली विकट क्षेत्र भएकाले यही प्रदेशलाई सहयोगका लागि छनौट गरेको पनि उनले बताए । ‘कर्णाली चाहेर पनि स्रोत जुटाउन नसक्ने क्षेत्रका रुपमा परिचित छ । यहाँका जनता जति इमान्दार र मेहनती छन त्यतिनै विशेष गरि स्वास्थ्यको पीडामा छन,’ नेता तथा समाजसेवी शाहले भने, ‘त्यसैले ट्रष्टका साथीहरुको सल्लाहमा करिब एक करोेडको स्वास्थ्य सहयोग कर्णालीलाई गर्ने निर्णय भएको हो ।’

उपलब्ध गराउन जोहो गरिएको स्वास्थ्य सामग्री लकडाउनको अवस्थामा मुस्किलले जुटाए पनि सम्बन्धित स्थानमा पठाउन कठिनाई भइरहेको पनि नेता शाहले बताए ।

यसअघि पनि पूर्वसांसद शाहले जाजरकोटका स्थानीय तहमार्फत स्वास्थ्य संस्थालाई सर्जिकल बेड उपलब्ध गराएका थिए । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसलाई मध्यनजर गर्दै आइसोलेसनका लागि तीं बेड शाहले उपलब्ध गराएका थिए ।

शाहले निजी खर्चमा जाजरकोटका सातवटै स्थानीय तहमा रहेका स्वास्थ्य संस्थालाइ पाँच पाँचवटाका दरले ३५ सर्जिकल बेड हस्तान्तरण गरेका थिए । कर्णालीको स्वास्थ्यप्रति संवेदनशील रहँदै आएका यसअघि नै जाजरकोटको दुर्गम गाउँ थलबजारमा करिब सात करोडको नीजि लगानीमा अत्याधुनिक अस्पताल समेत निर्माण गरिसकेका छन ।