प्रधानमन्त्री ज्यू ! तपाईँ, हामी मर्यौं भने लाश कस्ले फाल्ने ? (प्रधानमन्त्रीलाई एक पत्र)

० सर्मिला कार्की

प्रधानमन्त्री ज्यू !
यहाँको पदीय गरिमालाई सादर आदर ! हुन त यो लेख्नुको तात्विक अर्थ रहन्छ भन्ने लाग्दैन । र पनि लेख्नेहरुको कर्तव्य लेख्नु नै हो ।
अर्थ यस अर्थमा नरहला कारण, आजसम्म कैयौँ विद्वान, विश्लेषक र वुद्धिजीवीहरुले धेरैथोक लेखि पनि सकेका छन । यहाँको वरपर रहेर यहाँलाई हरेक सल्लाह दिने सल्लाहकार मण्डलीको मस्तिस्कमा पनि खुराफात, बद्ख्याईँ र प्रतिसोध मात्र पक्कै छैन होला । कुनै न कुनै विज्ञता, विशेषज्ञता र सुझबुझ देखेरै उहाँहरु यहाँको सल्लाहकार बन्नलायक बन्नु भएको होला ।

यहाँनेर स्मरण गराउँ प्रधानमन्त्री ज्यू ! स्मरण यसकारण कि, यहाँ त आफ्नै स्वास्थ्य अवस्थाका कारण पनि कतिपय राष्ट्रिय र अन्तर्राष्ट्रिय सवालमा अनभिज्ञ पनि रहनु भयो । सहायक–सारथीहरुले देशको सीमामा छिमेकी भारतले त्यत्रो चट्टान फोडेर बनाएको सडकको उद्घाटन गर्दासम्म पनि यहाँलाई जानकारी नदिएको कुरा यहाँकै मुखारबिन्दुले उजागर गरेको कुरा अहिले पनि मिडियाहरुमा सवत्र पाइन्छ ।

त्यसैले स्मरणको सवालमा म सीमा र साँधको विषय उठाउँदिन । यहाँ स्मरण गराउन खोजेको के मात्रै हो भने विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि अब आगो झैँ फैलिरहेको छ । सम्भवतः यहाँका सारथी, सहयोगी, सल्लाहकार मण्डलीले यो विषय नभनिदिएका हुनसक्छन ।

यो आशंका किन भने, पछिल्लो अवस्थाको अवगत उहाँहरुले गराएकै भए यहाँजत्तिको क्रियाशील, जुझारु, आफ्नै स्वास्थ्यको यो अवस्था र उमेरमा पनि १८ घन्टा खटिने प्रधानमन्त्रीले कोरोना नियन्त्रणका लागि पनि यति फितलो र नाजुक अवस्था बनाइराख्नु पक्कै हुने थिएन ।
स्मरणकै सवालमा सम्माननीय प्रधानमन्त्रीज्यूलाई एउटा सामान्य स्मरण गराउँने अनुमति चाहेँ । नेपालमा कोरोना संक्रमणको पहिलो केश माघ नौ गते पुष्टि भएको थियो । कोरोनाको उदगमस्थल मानिएको चीनको बुहानमा पढन गएका नेपाली विद्यार्थीमा पहिलोपटक कोरोना पुष्टि भएको यहाँकै सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गराएको थियो ।

माघ नौदेखि आजको दिनसम्म गन्दा कोरोना संक्रमणको फैलावटलाई रोक्न, नियन्त्रण गर्न, भैपरि आउने अवस्थासँग जुझन हामीसँग ११५ दिन थियो, अर्थात करिब चार महिना । विडम्बना हामीले के गरेका रहेछौँ ? यहाँले नै करिब महिना दिन अघि नेपालमा कारोनाले केही गर्दैन, विश्वले नेपालबाट सन्देश लिनेछ भन्दा यो छाती गर्भले फुल्नुभन्दा बढी ढाडसले शान्त भएको थियो । तर यहाँले नै फेरि केही दिन अघि नेपालमा भयावह अवस्था आउनसक्छ भन्दा डरसँगै आसा पलायो कि प्रधानमन्त्री ज्यूलाई अवस्थाको आंकलन रहेछ । अब नियन्त्रण, उपचार र अवस्थाको व्यवस्थापनको तयारी तीव्र हुनेछ ।

‘जे नहुनुपर्ने थियो, त्यो दुर्भाग्य र दर्दनाक अवस्थाको सन्देश धुलिखेल अस्पतालबाट बाहिरियो । यो देशका कस्ता कस्ता दिग्गज (सम्पादक)हरुको त मुटु छैन भनेर यहाँले नै भन्नु भएको थियो भने हामी नाथे आम नागरिकको झन कत्रो मुटु हुन्थ्यो र ! धुलिखेलमा नौ दिने सुत्केरी आमाको मृत्युको सन्देशले देशभरका करिब तीन करोड मुटु एकैपटक थर्कमान भए’

सम्माननीय प्रधानमन्त्री ज्यू ! जे नहुनुपर्ने थियो, त्यो दुर्भाग्य र दर्दनाक अवस्थाको सन्देश धुलिखेल अस्पतालबाट बाहिरियो । यो देशका कस्ता कस्ता दिग्गज (सम्पादक)हरुको त मुटु छैन भनेर यहाँले नै भन्नु भएको थियो भने हामी नाथे आम नागरिकको झन कत्रो मुटु हुन्थ्यो र ! धुलिखेलमा नौ दिने सुत्केरी आमाको मृत्युको सन्देशले देशभरका करिब तीन करोड (केही छोडेर) मुटु एकैपटक थर्कमान भए ।

आदरणीय प्रधानमन्त्री ज्यू ! जे नहुनु थियो त्यो भइगयो । त्यस अवस्थाका लागि यहाँ नेतृत्वको सरकारलाई सरापेर केही फिर्ता हुने पनि छैन । फैलिरहेको संक्रमणको कारण सरकारको अकर्मन्यता, अदूरदर्सिता र बहुलठ्ठीपन हो भनेर पनि केही हुनेवाला छैन । तर कोरोना संक्रमणबाट नेपालमै पहिलो र आजसम्म एक मात्र मृतक महिलाको अन्तिम विदाईको कथा सुन्दा भने आक्रोसभन्दा पनि करुणा र साँच्चै त्रासदीपूर्ण अवस्थाको आंकलनले भने साँच्चै मुटु काँपेको छ ।

२९ वर्षकै उमेरमा जीवन संगीनिले छोडेर गएको श्रीमानको पीडा, काखमा लिन पनि निकै संवदनशील मानिने नौ, १० दिने शिशुलाई सम्हाल्नुपर्दाको बाबुको अवस्था र अन्तिम विदाई गर्दा पनि अनुहार हेर्न त के पलास्टिकको पोकोमा बेरिएको शव नियाल्न सम्म नपाइने आफन्तको अवस्था कति दर्दनाक र विदिर्ण होला ? कल्पन गर्दा पनि हृदय रसाएर आउँछ ।

हो प्रधानमन्त्री ज्यू । यहाँले स्मरण नगरेको होइन, ‘एक जना महिलाको मृत्यु भएकोमा म दुःख व्यक्त गर्छु’ भनेर संसदमा औपचारिकता पुरा गर्नुभएको छ । तर सरकार र राज्यको कर्तव्य के हो ? जिम्मेवारी कति हो ? यहाँले भन्न सक्नुहुन्छ ‘मद्वारा सञ्चालित राज्यले गठन गरेको कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर छ ।’

हो सरकारले कोरोना संक्रमण फैलन नदिन नीति बनाउने हो । नियम बनाउने हो । संक्रमितको उपचार गर्ने हो । मृतकका शवको व्यवस्थापन गर्ने हो । जसका लागि सेन्टरले शव व्यवस्थापनसम्बन्धी कार्यविधि पनि बनाएको छ । जसले मृत्यु भएका व्यक्तिको परिवारले शव छुन नपाउने कार्यव्यवस्था अख्तियार गरेको छ ।

विडम्बना देशमा पहिलोपटक मात्र एक जनाको मृत्यु हुँदा र उनको शव व्यवस्थापन गर्दा देखिएको परिदृश्यले भने मुटु काँपेर आउँछ । हृदय पग्लिएर पखालिन्छ । अनि आगामी अवस्थाको सम्भावित परिदृश्यको भयावहताको संकेत गर्छ ।

साँच्चै प्रधानमन्त्री ज्यू ! झण्डै दुईतिहाई बहुमतको मेरो सरकार यति उदासिन किन ? यति निरिह कसरी ? किन यति गैह्रजिम्मेवार ? किन यति अदुरदर्शि ?

स्थिति खराब हुन्छ भनेरै सरकारले देशलाई चैत ११ देखि लकडाउन गर्यो । जनताले सहर्ष स्वीकार्यौँ । त्यसयता पनि त हाम्रो जीवनका ५५ दिन लकडाउनकै अवस्थामा गुज्रिए तर सरकारले के गर्यो ?

भन्नसक्नु हुने छ, ‘धेरै थोक गर्यो, चार महिनामा २६ हजार बढीको परीक्षण गर्यो, ठाउँ ठाउँमा राहत वितरण गर्यो, विधेयक ल्यायो, फिर्ता गर्यो, पाँच वर्ष लगाएर बनाएको सडक भारतले उदघाटन गरेपछि सीमाको १२ किलोमिटर वर सुरक्षा चौकी स्थापना गर्यो । पार्टीको आन्तरिक किचलो आफै जन्माएर आफै आलटालको अवस्थामा राखियो, कोरोनालाई महत्व नै नदिएको सरकारको नीति तथा कार्यक्रम ल्यायौँ, र अरु अरु पनि ।’

‘आज लकडाउन भएको ५५ औँ दिनमा हामी छौँ । सीमामा हप्तौँदेखि एकै थुप्रो भएर बसेका नेपाली अवैध बाटो भएर भित्रिरहँदा कोरोनाको संक्रमण झन उच्च भएको छ । अब ती नेपाल भित्रिँदा उनीहरुलाई व्यवस्थापन, खानपान र आइसोलेसनमा राख्न के तयारी गरियो ? देशका कति स्थानमा कोरोना केन्द्रित अस्पताल बनाइयो ? अहिले कोरोनाको उपचार गराइरहेका अस्पतालमा स्थान नभएको अवस्थाको तयारी के कति भयो ? त्यसो नहोस, तर देशमा कोरोनाबाट मृत्यु भएमा उनीहरुको शव व्यवस्थापन गर्न कति जनशक्ति तयार पारियो र के तयारी भयो ?’

तर प्रधानमन्त्री ज्यू । आज लकडाउन भएको ५५ औँ दिनमा हामी छौँ । सीमामा हप्तौँदेखि एकै थुप्रो भएर बसेका नेपाली अवैध बाटो भएर भित्रिरहँदा कोरोनाको संक्रमण झन उच्च भएको छ । अब ती नेपाल भित्रिँदा उनीहरुलाई व्यवस्थापन, खानपान र आइसोलेसनमा राख्न के तयारी गरियो ? देशका कति स्थानमा कोरोना केन्द्रित अस्पताल बनाइयो ? अहिले कोरोनाको उपचार गराइरहेका अस्पतालमा स्थान नभएको अवस्थाको तयारी के कति भयो ? त्यसो नहोस, तर देशमा कोरोनाबाट मृत्यु भएमा उनीहरुको शव व्यवस्थापन गर्न कति जनशक्ति तयार पारियो र के तयारी भयो ?

विडम्बना डरलाग्दो र त्रासदीपूर्ण अवस्था त नेपालमा एकै जनाको मृत्यु हुँदा पनि उनको शव व्यवस्थापन गर्ने जनशक्ति पाउनै मुस्किल भयो । आर्मी, स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक नै उनको शवको छेउ पर्नै हिचकिचाएको समाचार बाहिरियो । अवस्था अत्यासलाग्दो देखियो । यहाँको कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरले त अहिलेसम्म शव उठाउने चार  सारथी पनि तयार नगरेको धुलिखेल घटनाले देखाउन खोजेको हो भने यो निकै अत्यासलाग्दो हो ।

प्रधानमन्त्री ज्यू ! पहिलो मृतक सुत्केरी महिलाको शव उठाउन सुरक्षा निकायकै जनशक्ति मुखामुख र वहानाबाजीमा उत्रिएको खबर मिडियाले उल्लेख गरेका छन । मृतकका आफन्तामा आफन्तवियोगसँगै अन्तिम विदाइको अलमलले झन कति पीडावोध भयो होला, यहाँको कवि हृदयले यो महसुस गर्न सक्दैन होला भन्ने आँट ममा छैन ।

तर नेपाल स्काउटका सामाजिक अभियन्ता राजेश गाईजु, अरुण सैंजु, न्हुज किजू र दीप थकूको आँटिलो र मानवीय हृदय हुँदैन थियो भने, तीं महिलाको शव कति दिन धुलिखेल अस्पतालमै रहन्थ्यो होला ?

प्रिय प्रधानमन्त्री ज्यू ! स्थिति यहाँकै वाणीअनुसार भयावह बन्दै गएको छ । एकबाट चार, चारबाट ११, ११ बाट १७, ३१ हुँदै यो लेखिरहँदा २९१ जनामा संक्रमण र एक जनाको मात्रै मृत्यु भएको छ । यो शुक्ष्म सत्रुले न धनी चिन्छ, न गरिब, न ओहोदालाई चिन्दो रहेछ, न फकिर ! जसको प्रमाण सामान्यदेखि पृतनापति सम्मलाई संक्रमित गरिसकेको छ ।

प्रधानमन्त्री ज्यू ! हुन त म नाथेभन्दा कस्ता कस्ता दिग्गजको सल्लाह, सुझाव र साथ यहाँलाई होला र पनि मनको भडास न हो, अब पनि यही गति र मति रह्यो भने भोली भन्नलाई हामीजस्ता र सुन्नलाई तपाईँजस्ता पनि नरहने अवस्था नआवोस ।

त्यसैले प्रधानमन्त्री ज्यू, राज्य भनेको अभिभावक हो । सब ठिकठाक हुँदा राज्य र नागरिकको साइनो हुनु ठिक हो । तर बेठिक र विपदमा राज्य अभिभावक र नागरिक परिवार बन्नुपर्छ ।

त्यसैले प्रधानमन्त्री ज्यू ! अब यसो गरौँ–

सीमा पारि दोसाँधमा रहेका नागरिक हाम्रै सन्तती हुन, उनीहरुलाई ल्याउँ, क्वारेन्टाइनमा राखौँ, परीक्षण गरौँ, राहतको नाममा स्थानीय तहले गरिरहेको प्रचारबाजी बन्द गरेर क्वारेन्टाइनमा राखेका र वास्तविक मुस्किलमा परेकालाई खुवाउँ ।

० कामकाज खोसिएको, रोजगार गुमेका र खानै नपाउने अवस्थामा पुगेका नागरिकको तथ्यांका अब भए पनि स्थानीय वडा वडाका सरकारलाई खटाएर संकलन गर्दै, उनीहरुलाई संरक्षण दिउँ ।

० हरेक जिल्ला, क्षेत्र र केन्द्रका अस्पताल महामारी रहुन्जेल राज्यको यिन्त्रणमा लिउँ, ती मध्ये निश्चित अस्पतालाई आम बिरामीका लागि तोकौँ र बाँकी अस्पताललाई बढ्दै गएको कारोना संक्रमितको उपचारका लागि विस्तार गर्दै लग्न ढिला नगरौँ ।

० अहिले शैक्षिक संस्थाहरु बन्द छन, यहाँले भने झैँ स्थिति भयावह हुँदै जाने हो भने ती संस्थाका भवनहरुमा आइसोलेसनको तयारी आजै गरौँ

० अझै भनौ त्यसो नहोस, तर मृतकको संख्या बढ्दै गयो भने फाल्ने कसले ? एक जनाको मृत्यु हुँदा त राज्य संयन्त्रका मान्छेहरु पन्छिने अवस्था आयो, स्वयमसेवक अघि सर्नुपर्यो, भने भोली मृतक बढ्दै गए अवस्था के हुने ?

त्यसैले प्रधानमन्त्री ज्यू, स्थितिलाई सुधारौँ । चुस्त, मानवीय बनाउँ । यो सबैको विपत्तिको अवस्था हो भन्ने रुपमा यसलाई नियालौँ । स्थिति यस्तो रहन नदिउँ कि भोली तपाईँ हाम्रो नै मृत्यु भए छ भने फाल्ने मान्छे नपाइयोस ।