सेनाले ल्यायो १८.८ टन स्वास्थ्य सामग्री

काठमाडौं । नेपाली सेनाले चीनको ग्वाङ्जाओबाट १८.८ टन स्वास्थ्य सामग्री नेपाल भित्र्याएको छ । सेनाले खरिद गरेको उक्त स्वास्थ्य सामग्री नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए ३३० जहाजले मंगलबार बिहान काठमाडौँ ल्याएको हो ।

स्वास्थ्य सामग्री बोकेर आएको निगमको वाइड बढी जहाज आज बिहान सवा नौ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । स्वास्थ्य सामग्री लिन निगमको वाइड बडी जहास सोमबार राति ग्वाङ्जाओ उडेको थियो ।

ग्वाङ्जाओबाट १८.८ टन स्वास्थ्य सामग्री काठमाडौँ आइपुगेको सेनाले जनाएको छ । ती स्वास्थ्य सामग्रीमा पिपिइ, एन–९५ मास्कलगायत रहेका छन् । सेनाले यसअघि शनिबार स्थलमार्गबाट १० कन्टेनर स्वास्थ्य सामग्री ल्याएको थियो ।

बुझिएअनुसार सेनाले जम्मा ३४३ टन स्वास्थ्य सामग्री ल्याउनेछ । त्यसमध्ये जहाजमार्फत ४७.५ टन र बाँकी सडकमार्गबाट ल्याउनेछ । सेनाले पहिलोपटक जहाजमार्फत स्वास्थ्य सामग्री ल्याएको हो ।