के हो प्रदीप गिरीले भनेको सत्ता रूपान्तरण ?

० चन्द्रकान्त पौडेल

काँग्रेसका नेता तथा विद्वान प्रदीप गिरीले केही दिनअघि संदनमा गरेको भाषण सामाजिक सञ्जालमा रातारात भाइरल भयो। ‘रक्सीको नसा खाएपछि लाग्छ, पैसाको नसा पाएपछि लाग्छ, अनि सत्ताको नसा गीत गाएपछि लाग्छ ।’ यी वाक्यहरु अहिले अधिकांश नेपालीको जिब्रोमा झुन्डिएका छन् ।

विद्वान् एवम् चिन्तक नेता प्रदीप गिरी नेपाली काँङ्ग्रेस पार्टीबाट निर्वाचित सांसद हुन् । संसदमा प्रदीप गिरिको छुट्टै पहिचान छ । उनी बोल्दा संसदमा पेनड्रप साइलेन्सको अनुभूति हुन्छ। हुन त लगभग आधा हजारभन्दा धेरै सांसद भएको हाम्रो देशमा कुन सांसदले के बोल्यो ? त्यसको खासै लेखाजोखा हुँदैन, किनकि बेतुकका विरोध र भक्तिगान बाहेक तर्क र फराकिलो विचारयुक्त भाषण विरलै सांसदले गर्छन्। तर जब प्रदीप गिरी बोल्न थाल्छन् तब लाग्छ कोही सरस्वतीपुत्र बोल्दैछन्।

ुआफ्नो आस्था भएको पार्टीको जे कुरा पनि ठिक र फरक आस्था भएको पार्टीको जे कुरा पनि बेठिकु यस किसिमको झोले मानसिकताबाट कोसौं टाढा लाग्छन् प्रदीप गिरीका विचारहरु । कहिले संसद भवनको रोष्टममा उभिएर सरकारको मुक्तकण्ठले प्रशंसा गर्छन् त कहिले आफ्नै पार्टी काङ्ग्रेसका त्रुटिपूर्ण कार्यको भर्त्सना गर्न पछि पर्दैनन् । गुणदोषको आधारमा समर्थन र विरोध गरेका हुन्छन । उनी पार्टीको तर्फबाट हैन जनताको तर्फबाट बोल्छन् ।

यसपटक भने प्रदीप गिरीले सरकारलाई लक्षित गरेर निकै गह्रुँगो प्रहार गरे । नीति तथा कार्यक्रमको दस्तावेजलाई सरकारको किंकर्तव्यविमूढता भन्दै भ्रष्टाचार कुशासन र मनलाग्दीपनले नेपाली राजनीति दिशाहीन बनेको तर्क गरे । कोरोना रोकथामका लागि सरकारले गरेको अकर्मण्यता र उदासीपनप्रति उनले तीखा व्यङ्ग्यवाण प्रहार गरे । साथै केवल सत्ता हस्तान्तरणलाई प्राथमिकतामा राखेर सत्ता रूपान्तरण हुन नसकेकोमा उनले कता कता आत्मालोचना पनि गरेको अनुभूति भयो ।

यस किसिमका अरूपान्तरित गतिविधिका लागि कता कता आफू स्वयम् पनि जिम्मेवार रहेको अप्रत्यक्ष रूपमा स्वीकार्दै उनले विगतको राजनैतिक संघर्ष एवम् जेल जीवनलाई केलाए । फरक राजनैतिक विचार राख्ने राजनैतिक सहकर्मीको पनि स्मरण गर्न बिर्सेनन् । नेपालमा पटक पटक सत्ता हस्तान्तरण गरेर सरकार फेरिए पनि रूपान्तरणमा ध्यान दिन नसक्दा कसरी हामी चुकिरहेका छौँ र अझै विकासका सैकडौँ गतिविधिबाट बन्चित छौँ ? भन्ने उनको आशयलाई पङ्क्तिकारले व्याख्या गर्न खोजिरहँदा आजसम्म उनीसँग बसेर गफ गर्ने मौका मिलेको छैन।

धेरै पटक सार्वजनिक कार्यक्रममा ‘दाइ जय नेपाल !’ भनिरहँदा मुस्कुराउँदै जय नेपाल ! भनेर प्रत्युत्तर भने पाइन्थ्यो तर एकपटक नेपाल टेलिभिजनको कार्यक्रम दार्शनिक अन्तर्वार्ताका लागि अनुरोध गर्दा ‘म बूढो मान्छेलाई किन दुख दिनुहुन्छ ?’ भनेर ठट्टा गर्दै टेलिफोनमा गरिएको वार्तालाप नै एकमात्र संयोग हो ।

यद्यपि कार्यव्यस्तताले उनले सो कार्यक्रममा अन्तर्वार्ता दिन भ्याएनन्। सत्ताको अर्थ अस्तित्व हो । सो राजनैतिक अस्तित्व आजसम्म एकै किसिमको कसरी छ भने आज पनि नेपाली राजनीति जी हजुरी र दर्शन परिक्रमामा अडिएको छ। एकाध अपवाद बाहेक नेतृत्व वा जिम्मेवारी तहमा क्षमता, प्रतिभा भएका व्यक्ति भन्दा पनि ‘हस् हजुर’ भन्ने यसम्यानलाई जिम्मेवारी सुम्पिने चलनले असल नेतृत्व निर्माण हुन सकेन । यस्तो प्रवृत्ति सत्ता रूपान्तरणमा प्रमुख बाधकका रूपमा अद्यापि जीवित छ। कुनै संगठन वा अन्य कुनै सार्वजनिक पदमा पुगिसकेपछि छिनछिनमा रिपोर्ट खोज्ने निर्णयमा हस्तक्षेप गरिरहने प्रवृत्तिले नेता बन्ने र नेता बनाउने दुबैलाई रूपान्तरित हुन दिएन ।

रामायणका एक प्रमुख पात्र श्रीराम हुन् । कथामा उनी नारायण भगवानका अवतार हुन् । उनी जे पनि गर्न सक्छन् तर नाटक गरेर सामान्य मनुष्यका भाँति उनले आफ्नो जीवन बिताउँछन् । सीताको अपहरणपछि लंकामा सीता खोज्न उनी स्वयम् जानसक्थे तर उनले सो खोजीकार्यका लागि हनुमानलाई चयन गरेर पठाए । बिना हस्तक्षेप हनुमानका लागि कार्यक्षेत्र खुला गरिदिए । फलस्वरूप सीताको खोजी मात्र गर्न भनेर गएका हनुमानले समुद्रलाई उडेर पार गरे ।

सुरसा नामकी राक्षसीको मुखमा पसेर बाहिर आए । लंका पुगेर लङ्किनी नाम गरेकी राक्षसीलाई ठेगान लगाएर लंकाका राजा रावणका भाइ विभीषणसँग मित्रता गाँसे । सीतामातालाई भेटेर रावणका छोरा अक्षय कुमारलाई मारेर सारा लंकामा आगो लगाएर सीताको सन्देश लगेर श्रीरामलाई बुझाए । हनुमानको नेतृत्व विकासको मूल कारण श्रीरामले उनको क्षमतामा विश्वास गर्नु र स्वतन्त्रतामा रमाउन दिनु थियो ।

 

‘अचेल हनुमान शब्दको अर्थ नै नबुझेकाहरुले ढोके, हुक्के, बैठके, क्षमता र प्रतिभा रहितलाई हनुमानको संज्ञा दिरहँदा धार्मिक रूपमा हनुमानको अपमान गरिएको महसुस हुन्छ । सारा काम छोडेर बिहान बेलुका नेताको दैलो चहार्ने कुनै काम गर्ने ढंग नभएर नेताले भनेको ठाउँमा गएर चन्दा असुलेर ठगीखाने ठगहरुलाई हनुमान भन्नु कत्तिको उपयुक्त होला ?’

खोइ त हामीले नेतृत्व चयनमा यी कुरालाई अवलम्बन गरेको ? अचेल हनुमान शब्दको अर्थ नै नबुझेकाहरुले ढोके, हुक्के, बैठके, क्षमता र प्रतिभा रहितलाई हनुमानको संज्ञा दिरहँदा धार्मिक रूपमा हनुमानको अपमान गरिएको महसुस हुन्छ । सारा काम छोडेर बिहान बेलुका नेताको दैलो चहार्ने कुनै काम गर्ने ढंग नभएर नेताले भनेको ठाउँमा गएर चन्दा असुलेर ठगीखाने ठगहरुलाई हनुमान भन्नु कत्तिको उपयुक्त होला ?

सत्ता रूपान्तरणको अर्को बाधक भनेको दिशाहीन र चेतनाविहीन युवा जमात पनि हो । जुन युवा पुस्ता अग्रगामी चेतनाको संवाहक हुनुपर्ने हो त्यही युवा हचुवा तालमा जिन्दावाद र मुर्दावादको भूमरीमा फसेर आफ्नो चेतनालाई तिलाञ्जली दिन उद्यत छ। संघर्षभन्दा शरणागत बन्नु अहिलेको युवालाई स्वीकार भएको देख्दा एक पटक नेपाली युवाले विश्वका अन्य मुलुकका युवालाई हेर्न आवश्यक छ ।

‘विदेशी मुलुकहरुमा ३०, ३५ बर्षका युवामन्त्री, प्रधानमन्त्री, राष्ट्रपति बनेको समाचार बिहानै चिया पसलमा गएर पढेर नेपाली युवा कुनै विद्यार्थी संगठनको केन्द्रीय सदस्य, महामन्त्री वा महासचिव जस्ता पदको याचना गर्दै नेताका दैलो चहार्छ । योभन्दा ठूलो बिडम्बना के हुनसक्छ ?’

विदेशी मुलुकहरुमा ३०, ३५ बर्षका युवामन्त्री, प्रधानमन्त्री, राष्ट्रपति बनेको समाचार बिहानै चिया पसलमा गएर पढेर नेपाली युवा कुनै विद्यार्थी संगठनको केन्द्रीय सदस्य, महामन्त्री वा महासचिव जस्ता पदको याचना गर्दै नेताका दैलो चहार्छ । योभन्दा ठूलो बिडम्बना के हुनसक्छ ? हिजोका दिनमा निरंकुशता विरुद्ध लड्न राजनैतिक दलको आस्था अनुरूप बनेका विभिन्न पत्रकार सङ्गठनहरु जस्तैः प्रेस युनियन, प्रेस चौतारी वा अन्य प्रेस संगठन आजसम्म जीवित छन् । त्यस्ता संगठनमा बसेर अस्वतन्त्र, पार्टीभक्ति एवम् पार्टीपरक पत्रकारिता गर्नेहरु स्वयं त अंधेरोमा छन् नै साथै जनतालाई पनि अँध्यारोमा राख्नमा तल्लीन छन् ।

यसले दर्शाउँछ हाम्रो अवस्था आज पनि हिजोको जस्तै छ । यस्तो प्रवृत्ति पनि सत्ता रूपान्तरणमा बाधक बनेको छ । आज पनि स्वतन्त्र पत्रकारिता गर्नेहरु प्रेस काउन्सिल, नेपाल टेलिभिजन, रेडियो नेपाल वा गोरखापत्रको कार्यकारी बन्ने कुरा त परै जाओस् त्यहाँ सामान्य जागिर खान र खाए पनि टिक्न सक्दैनन् । अनि यस्तो प्रवृत्तिले कसरी हुन्छ सत्ता रूपान्तरण ?

हिजो राणा र राजाका पालामा जस्तो निरंकुशता थियो । आज पनि सत्तामा उस्तै निरंकुशता छ । पात्रहरु फेरिएका छन् तर प्रवृत्ति फेरिएको छैन । फुटाएर राज गर्ने र लुटेर खाने चलन अझै छ । निरंकुशताको शैली फेरिएको छ, किनकि समय पनि फेरिएको छ । हिजो राणाका, राजाका नजिकका अरौटेभरौटे नीति निर्माणको तहमा हुन्थे आज पार्टी नेताका अरौटेभरौटे मात्र नीति निर्माणको तहमा छन् । क्षमता र प्रतिभालाई थुनेर राखिएको छ ।

यस्तो कुप्रवृत्ति शिक्षक, प्राध्यापक, कर्मचारी, व्यावसायी, समाजसेवी जहाँसुकै सिन्डिकेट व्याप्त छ । यस्ता धेरै कारणहरु छन् जुन हाम्रो सत्ता रूपान्तरणमा बाधक बनेका छन् । बहुदलीय व्यवस्थामा दलको सदस्य बन्नु आम कुरा हो । पोलिटिकल पार्टीमा लाग्नै नहुने कुरा पनि होइन तर पोलिटिकल पार्टीमा सक्षम क्षमतावानलाई पर हटाउने र आसपासका खासलाई मिलाएर राखेर आत्मकेन्द्रित शासन चलाउने जुन पुरानो राणाकालीन वा पञ्चायती व्यवस्था झैँ अहिले पनि त्यस्तै हुनु अत्यन्त विडम्बना र दुःखद कुरा हो ।

विकारस्य न भो मित्र राजनीतिर्भवेत्सदा ।
राजनीतिः विचारस्योद्योगस्य च समिश्रणम् ।।

राजनीति केवल अरुको विकार केलाउने र विरोध गर्नका मात्र लागि होइन । यो त प्रष्ट विचार र विकासको समिश्रण हो । हाम्रो सत्ता रूपान्तरण त्यति बेला हुनेछ जब हामी सदनमा एक अर्काको दललाई गाली गरेर होइन, विकास र विचाररूपी उभय तत्त्वलाई आत्मसात गर्नेछौँ । आज पनि मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति आदिको विलासी जीवनशैली देखेर लाग्छः यिनले कहिले जान्लान् राजनीति भनेको सेवा हो भनेर ? व्यक्तिगत खर्चका लागि राष्ट्रको ढुकुटी खर्च नगर्ने संस्कार यिनले कहिले सिक्लान ? जनता पनि कहिलेसम्म झोलेमार्गमा हिँडिरहलान् ? कहिलेसम्म पैसा, रक्सी र मासुभात पेट्रोलसँग भोट साँट्ने प्रथा टिक्ला ? एक दिन त आउला जब चेतनाले जागृत समाज होला र सत्ता हस्तान्तरण मात्र नभएर सत्ताको रूपान्तरणको महसुस गर्न पाइएला । वर्तमान नेपालको राजनीति र सत्ता सञ्चालन देखेर लाग्छः मानौँ नयाँ बोतलमा उही पुरानै रक्सी मिसाइएको छ । मात्रै बोतल फेरियो, रक्सी पुरानै भयो …।