बुवाको सँस्कारले सिकाएको समाजसेवाः जसले बाँडे ३५ लाखको बिर्यानी र पिपिई

० रोहित गिरी

भनिन्छः किताबी ज्ञान शिक्षालयमा प्राप्त हुने भए पनि सँस्कार र मानवीयताको पहिलो पाठशाला घर हो । सँस्कार, सँस्कृति, मानवीयता, नैतिकता, सदाचार र भाइचारा अधिकांस मानिसले घरपरिवाबाटै सिक्ने गर्छ । उदार, सँस्कारी र सेवाभाव भएको परिवारबाटै हो समाजमा समाजसेवी जन्मने । त्यस्तै मध्येका हुन मिनहाज खान ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण आजसम्म करिब दुनियाका २१३ देश यसबाट आक्रान्त छन । कोरोना नयिन्त्रणका लागि अधिकांस देशमा लकडाउनको अवस्था छ । मानिसहरु घरबाट बाहिर निस्कन पाएका छैनन । वा घरबाट निस्कनु नै जोखिमका रुपमा देखिएको छ । तर काठमाडौंको ठमेलमा हरेक दिन खाना बोकेर निस्कनु मिनहाजको दुई महिनादेखिको नैनिकी हो ।

यसो किन गर्छन ? 

मिनहाज भन्छन्–‘लकडाउनको पहिलो रात मलाई निद्रा नै लागेन । रातभर मेरो आँखामा मजदुरी गर्ने, सडकमा जीवन विताउनेहरु आइरहे ।’
त्यसपछि के गरे ? 
उनी सानै हुँदा उनका बुवाले गरेको समाजसेवा उनको विस्मृतिमा थियो । करिब ३०, ३१ वर्ष अघिको त्यो समय उनका बुवा गार्मेन्टको फ्याक्ट्री चलाउँथे । त्यहीबेला ठूलो बाढीपहिरो आयो, उनका बुवाले आफ्नो गोदाम नै रित्तो हुने गरि सहयोग गरे । भने, ‘मरेपछि पुण्य पाउन यो सब गरेको हुँ ।’

उनलाई पनि लाग्यो । कोरोनाले मरिएछ भने सम्पत्ति थुपारेर के हुन्छ । आफू मरेपछि त्यो त त्यसै थन्किन्छ । त्यसबेला उनका बुवा समिम स्वर्गवास भएको पनि धेरै दिन भएको थिएन । आजसम्म आइपुग्दा वुवाले संसार त्यागेको चानचुन चार महिना भयो । अनि उनी बुवाको सम्झना र सम्मानमा उनले रातभरमा भोकालाई भोजन खुवाउने योजना बनाए ।

कसरी सम्भव भयो ?
मिनहाजले अक्षरपाटीलाई भने –‘यो मैले कुनै फण्ड खोजेर, कतैबाट मागेर गरिन, वुवाको प्रेरणाले मैले आफूसँग भएको स्टकबाट नै सेवा सुरु गरेको हुँ । ’ सुरुको दिनमा उनी ५०, ६० प्याकेट भेज बिर्यानी लिएर सडकमा निस्किए, त्यो क्षणभरमै सकियो । उनलाई लाग्यो अब थप्नुपर्छ । त्यसपछि उनले हरेक दिन दुई सय प्याकेट भेज बिर्यानी भ्यानमा राखेर ठमेलको सातघुम्ती चोकमा रहेको आफ्नै कफि क्याफे ‘कफी विथ मेन्ज’को सटर अगाडि पुग्न थाले ।

‘आवश्यक परेकाहरुलाई निःशुल्क खाना’ लेखेर वितरण सुरु गरे । उनकोमा बाहिर निस्कन नपाएका, होटेलको कोठामै थुनिएका कैयौँ पर्यटक पनि खाना लिन आए । बैंकक र युरोपका पर्यटकलाई उनीहरुको देशले स्वदेश नलगेसम्म यस्ता ४०, ५० जना पर्यटक उनको विर्यानी खाने नियमित सेवाग्राही थिए । अहिले भने १० १२ जना पर्यटक र बाँकी नेपाली गरेर दुई सय जना जतिलाई खान खुवाउने गर्छन ।

यो सब कसरी सम्भव भइरहेको छ ?
मिनहाज भन्छन्–‘सुरुका २२, २५ दिन आफ्नै ढुकुटीबाट घरका सदस्यले घरमै खाना बनाएर यहाँ ल्याएर बाँडे । बुवाको मृत आत्मालाई शान्ति मिलेको अनुभूति भयो । आफूलाई पनि चैनको निद्रा लाग्यो ।’ पछि उनलाई साथीसर्कलले सुझाव दिए । यसलाई संस्थागत गर्ने । त्यपछि उनले ‘मिन्ज फाउण्डेसन’ स्थापना गरे । अनि हरेक दिन त्यही फाउन्डेसनको नाममा खान, पिपिई र मास्क वितरण सुरु गरे ।

करिब दुई महिनादेखि उनको भेज विर्यानी खाने दुई सय मानिसका दरले आजसम्म करिब १० हजारले भन्दा बढीले खाना खाइसकेका छन । १० हजारभन्दा बढी मास्क त वितरण गरिसकेका छन । कारोना विरुद्धको फ्रन्टलाईनमा खटिएकाहरुले पिपिई समेत नपाएको समाचारले उनको मन उद्देलित भयो ।

त्यसपछि उनले के गरे ?
मिनहाजले भने, ‘बुवाले सञ्चालन गर्नुभएको गार्मेन्ट सञ्चालन मात्र होइन उहाले सिकाएको समाजसेवाको मार्ग पनि मेरा अघिल्तिर थियो, मैले आफ्नै गार्मेन्टमा पिपिई बनाएँ र वितरण गरेँ ।’

आजसम्म मिनहाजले १५ सयभन्दा बढी पिपिई वितरण गरिसकेका छन । तीं पिपिई उनले वायु सेवा सञ्चालक संघ, लायन्स क्लब इन्टरनेसनल, नेपाल अर्थोपेडिक अस्पताल, मध्यपुर ठिमी नगरपालिका, नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, मानव सरोकार समाज, डब्लूटिटीसी, युवा अपांग संगठन, वीपी अध्ययन प्रतिष्ठान गण्डकी प्रदेश, नेपाल पत्रकार महासंघ, विश्व हिन्दू महासंघलाई संस्थागत रुपमा उपलब्ध गराए ।

त्यतिमात्र होइन उनले आफू समाजमा त्यति धेरै भिज्न नसकेकाले समाजका अगुवाका रुपमा चिनिएका राजनीतिज्ञमार्फत पनि सम्बन्धित ठाउँमा पुगोस भनेर पिपिई उपलब्ध गराएको बताए । त्यसरी उनले काँग्रेसका नेता गगन थापालाई ५१ पिपिई, सिर्जना सिंह (श्रीमती प्रकाशमान सिंह)लाई ५१ थान, काठमाडौं क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति उपेन्द्र कार्कीलाई १५१ थान, महिला संघकी केन्द्रीय सदस्य भद्रा भण्डारीलाई १२१ थान, एनपी साउदलाई ३० थान लगायत उनले १५ सय भन्दा बढी पिपिई वितरण गरेको बताए ।

राम्रोको फल राम्रै हुन्छ, पापको फल पाप गर्नेले नै भोग्छ भन्ने मान्यता बोक्ने मिनहाज भन्छन– मैले सुद्ध हृदयले दुःखमा परेकाहरुलाई सघाउने प्रयत्न गरेको हुँ, अहिले मलाई विभिन्न क्षेत्रमा रहेका साथीभाइले विभिन्न खालको सहयोग गरिरहेका छन । मिनहाजको पहलमा सुरु भएको भेज बिर्यानी, पिपिई र मास्क वितरणमा कति खर्च भयो होला त ? उनले भने –‘हिसाब राख्नलाई मैले व्यापार गरेको होइन । यो सेवा हो, तै पनि आँकडामा भन्दा ३०, ३५ लाख बराबरको सहयोग भयो होला ।’