न्याय ‘बहुलाएको’ देश !

सम्पादकीय

लोकलाजका लागि व्यक्ति पनि स्वनियममा बाँधिन्छ । आत्मसंयमता अपनाउँछ । आचरण र नियमको परिधिमा रहन्छ । तर यतिबेला राज्य  नै लोकजालका लागि पनि चिन्तित देखिँदैन । हामीले लोकतान्त्रिक सुशासनका लागि सदियौँदेखि लड्यौँ । क्रुर राणादेखि युद्धलाई पनि कानुनी राज्यको स्थापनाको इच्छाले परास्त गर्यौँ । र आज लोक लोकतान्त्रिक गणतन्त्र नेपाल भएको छ । नयाँ संविधानको धारमा मुलुक बहेको छ । तर न्यायको पंख भाँचिएको छ ।

यही देशमा ‘न्याय’ कहिले मरेको छ, कहिले बहुलाएको छ । नन्दप्रसाद अधिकारी छोराका हत्यारालाई कानुनी कठघरामा उभ्याउने माग गर्दा गर्दै जीवन त्याग्न बाध्य भए । आज देशकै लज्जा बनेको कञ्चनपुरकी १३ वर्षीया नीर्मला पन्तको बलात्कारपछि हत्याको घटनाले अर्को दुर्दशा हामी सामु उभ्याएको छ ।

एक नादान छोरी बलात चिथोरिएर मारिँदा पनि न्याए नपाउने मुलुकको रुपमा देश दरिएको छ । त्यति मात्रै होइन न्याय हक हो तर न्यायका लागि भिख माग्दा माग्दै एउटा बाबुको मन बिरक्तिएको देशका रुपमा  नेपाल चित्रित हुँदैछ । बिडम्बना देशमा न्याय मरोस वा बहुलाओस देशको बहुमतीय सरकार निस्फिक्री घाम तापेर सिंहदरबारमा आङ तङ्ग्रयाइरहेको छ ।

हामी न्यायका लागि लड्यौँ । के यही दिन देख्न लड्यौँ ? पटक पटक अपहरणमा परेको प्र्र्रजातन्त्र पुर्नवहालीका लागि तमामौं नेपालीले बलिदानी दिए । के यही अवस्था भोग्न दिए ?

आज एउटी १३ वर्षीया अबोध छोरी क्रुर बलात्कारपछि मारिँदा पनि न्याय पाउन नसक्ने दिन देख्न भोग्नकै लागि त्यो सब त्याग, तपस्या, संघर्ष र बलिदानी थियो ? बलात्कारीको खोजी र कानुनी उपचारको मागमा सिंगो मुलुक सडका ओर्लिँदा पनि ‘सियो खोजे पाइने’ देशमा कसरी अपराधी पाइएन ? ‘राम राज्य’को चाहना राखेर जनताले गरेको संघर्ष के यस्तै ‘राक्षष सुरक्षित’ हुनका लागि थियो ? आज प्रतिपक्षी पनि मौन छ, लाटो झैँ उभिएको छ ।

जनताले त आफ्नो समय, पैसा, रगत र पसिना खर्चेर सुशासन, न्याय, पारदर्सिता, जवाफदेहिताका खोजेका थिए । तर आज अन्याय, अच्याचार, बलात्कार र बलमिच्याइ सहनु परेको छ । न्याय देऊ भन्दा या त नन्दप्रसाद अधिकारी, या त यज्ञप्रसाद बन्नुपर्ने अवस्था छ । अनि यो कुन मोडेलको लोकतान्त्रिक मुलुक हो ? सरकार कसका लागि काम गरिरहेको छ ?