भारतबाट आएका नेपालीलाई निसर्ग हस्पिटलको भोजन

धनगढी । हप्तौं दिन लगाएर सीमानाका गौरीफन्टामा आइपुगेपछि उद्धार गरिएका नेपालीलाई धनगढीस्थित प्रतिस्ठित अस्पताल निसर्ग हस्पिटल एन्ड रिसर्च सेन्टरले भोजन गराउन सुरु गरेको छ । भारतबाट उद्धार गरिएका नेपालीलाई रोयल कोलाबोरेटिभ्सले थालेको खाना खुवाउने अभियान अन्तर्गत निसर्ग अस्पतालले धनगढी उप महानगरपालिका २ भन्सारस्थित नवदुर्गा माविमा राखिएका नेपालीलाई खाना खुवाउन सुरु गरेको हो ।

शुक्रवार साँझबाट विद्यालयमा राखिएका पाँच सय भन्दा बढी नेपाली दाजुभाइ दिदीबहिनीलाई रोयल कोलावोरेटिभ्सले सञ्चालन गरेको दानापानी अभियान अन्तर्गत खाना खुवाउन सुरु गरिएको अस्पतालले जनाएको छ । दैनिक रुपमा भारतबाट आउने नेपालीलाई निसर्ग हस्पिटलले खाना खुवाउने अस्पतालका अध्यक्ष तिर्थ पन्तले जनाएका छन ।

दैनिक सात सय जनालाई खाद्यान्न लगायतको सवै व्यवस्थापन निसर्ग हस्पिटलले गरिरहेको छ । खाना पकाउने र खुवाउने कामको जिम्मेवारी आफुहरुले लिएको रोयल कोलाबोरेटिभ्सका अध्यक्ष गजेन्द्र शाहीले जानकारी दिए । सुदूरपश्चिम प्रदेश सरकारले वास्ता नगरेको गुनासो बढेका बेला यहाँका मनकारीहरु भारतबाट नेपाल आएका नागरिकको व्यवस्थापनमा सक्रिय भएका छन ।