भारतबाट आउने नेपाली बढेपछि वडापालिकालाई व्यवस्थापनको चटारो

कैलाली । दुई महिनाभन्दा लामो लकडाउनका कारण भारतमै थुनिएका नेपाली केही दिनदेखि स्वदेश फर्कन थालेपछि उनीहरुलाई व्यवस्थापनको चटारो बढेको छ । कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी नाकाबाट सयौं नेपाली स्वदेश भित्रिएर आ आफ्नो गाउँपालिका जाने क्रम सुरु भएपछि विभिन्न गाउँपालिकालाई व्यवस्थापनको चटारो बढेको हो ।

यही क्रममा कैलालीको विकट मानिने चुरे गाउँपालिकामा पनि आगन्तुक भित्रिने क्रम सुरु भएपछि उनीहरुको व्यवस्थापनमा आफूहरु जुटेको पालिकाकी उपाध्यक्ष दीपादेवी साउँदले अक्षरपाटीलाई बताइन । गाउँमा आउनेहरु सामाजिक सदाचार, भाइचारा र आफन्त भेटघाटमा सक्रिय हुने हुन कि भन्ने चिन्ता बढेको स्थानीयले बताए पनि भातरबाट आउनेहरुका लागि हरेक वडामा क्वारेन्टिनको व्यवस्थापन गरेको उपाध्यक्ष साउदले जानकारी दिइन ।

तीन दिनयता आफ्नो वडामा आएकालाई विभिन्न विद्यालयमा बनाइएका क्वारेन्टिनमा व्यवस्थापनमा आफू सक्रिए भएको चुरे गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष कृष्णबहादुर मल्लले बताए । हालसम्म वडामा भित्रिएका ७ जनालाई बाटेगडाको सरस्वती विद्यालयमा, ४ जना गौरीगंगा नगरपालिकासँग समन्वय गरेर मालिका निमाविमा, ४ जनालाई ओखलढुगास्थित विद्यालयमा र २९ जनालाई समैजी विद्यालयमा राखिएको मल्लले जानकारी दिए ।

‘फेरि ५९ जना भारतको विभिन्न स्थानबाट आइरहेको सूचना आएको छ,’ वडा अध्यक्ष मल्लले भने, ‘चुरे पारी बनाइएका विद्यालयका क्वारेन्टिनमा लगेर राख्न न गाडीको व्यवस्था सजिलै सम्भव छ, न भोली संक्रमण देखिइहाल्यो भने उपचारका लागि ल्याउन बाटोको सहज सुविधा छ । उनीहरुलाई पनि तराईँसँग जोडिएका बाटेगडा, बालुगागडा र समैजीमा राख्ने कि भन्ने योजना बनाएका छौँ ।’

अहिले पनि गाउँमा बनाइएका घर नजिकैका विद्यालयका क्वारेन्टिनमा भारतबाट आएका आगन्तुकलाई राख्दा उनीहरुले सजगता नअपनाइदिने हुन कि भन्ने चिन्ता आफूहरुलाई भएको वडाध्यक्ष मल्ले व्यक्त गरे । यसका लागि बाहिरबाट आउनेका घर परिवार, आफन्त र टोलबासीले सजगता अपनाएर आफू पनि जोगिन र अरुलाई पनि जोगाइदिन उनले आग्रह गरे ।

चुरे गाउँपालिकाको वडा ४ मा अझै मोटरबाटोको सहज पहुँच र उपचारका लागि उपयुक्त सुविधा नभएकाले यो क्षेत्र जिल्लामै अन्य क्षेत्रभन्दा बढी जोखिमयुक्त भएकाले जिल्लाले पनि विशेष ध्यान दिनुपर्ने वडाअध्यक्ष मल्लको आग्रह छ ।