एक जनामा कोरोना संक्रमण देखिएपछि परशुराम नगर शिल

डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिकामा एक जना पुरुषलाई कोरोना पोजेटिभ देखिएपछि नगरपालिका पूर्ण रुपमा शिल गरिएको छ । जोखिम नबढोस भनेर पुरै नगरपालिका शिल गरिएको परशुराम नगरपालिकाका नगर–प्रमुख भीमबहादुर साउँदले बताए ।

सर्तकता अपनाउँदा पपनि परशुराम १० का एक जना पुरुषमा कोरोना पोजेटिभ देखिएकाले अझै संक्रमण, सन्त्रास, न्यूनीकरण र रोकथामका लागि नगरपालिका नै शिल गर्नु परेको साउदको भनाइ छ ।

उनले सबै नगरवासी, सरोकारवालाले आ–आप्नो क्षेत्रवाट लकडाउनलाई पालना गरेको र अझै उच्च सतर्कता अपनाएमा कोरोना महामारीसँग लड्न सकिने वताए । सुदूरपश्चिम प्रदेशमा ५ जनामा कोरोना पोजेटीभ ब्यक्तिहरु निको भएर घर फर्किइसकेका छन । केही दिन यता यो प्रदेशमा पुनः संक्रमित थपिएका छन ।

आफ्नो नगरमा एक जनालाई कोरोना पोजेटिभ देखियो भन्दैमा आत्तिहाल्नुपर्ने अवस्था नभए पनि सावधानी र सर्तकता आवश्यक भएको नगर प्रमुख साउदले बताए । अहिले नगरले अति आवश्यक काम बाहेक घर बाहिर ननिस्कन नगरवासीलाई अपिल गरेको छ ।

जोखिमको यो घडीमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, संचारकर्मीलाई पनि संवेदनशील भएर जिम्मेवारी पुरा गर्न साउदले आग्रह गरे । नगरमा एक जनामा कोरोना देखिएपछि नगरवासीमा त्रास फैलिएको छ । उत्पन्न सन्त्रासलाई न्यूनीकरणका लागि तत्काल नगरपालिकाले दिने सबै प्रशासनिक सेवा, योजना सम्झौता, भुक्तानी पनि स्थगित गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ पनेरुले बताए ।

नगरपालिका र मातहतका कार्यालयमा भिडभाड नहोस र कोरोनाको जोखिम नबढोस भनेर तत्काललाई सेवा बन्द गरिएको पनेरुले बताए ।