इ सेवाले सुरु गर्यो पहिलोपटक ‘वालेट टु वालेट’ रेमिट्यान्स सेवा

काठमाडौं । इसेवा मनि ट्रान्सफरले रेमिट्यान्स क्षेत्रमा पहिलोपटक ‘वालेट टु वालेट’ रेमिट्यान्स पठाउन सकिने सेवा सुरु गरेको छ । इसेवा मनि ट्रान्सफरले मलेसियाबाट रेमिट्यान्स् कारोबार सुरु गरेको छ।

यसअघि जापानबाट रेमिट्यान्स कारोबार सुरु गरिसकेको इसेवा मनि ट्रान्सफरले मलेसियामा पनि आफ्नो सेवा विस्तार गरेको हो । मलेसियाको भ्याल्यु कम्पनीसँगको सहकार्यमा रेमिट्यान्स् कारोबार सुरु गरिएकोे कम्पनीले जनाएको छ ।

मलेसियामा रहेका नेपालीले भ्याल्युका एजेन्टबाहेक सिधै भ्याल्युको वालेटबाट नेपालको इसेवा वालेट तथा कुनै पनि बैंक खातामा समेत रेमिट्यान्स् पठाउन सक्ने सुविधा पाउने छन ।

इसेवा मनि ट्रान्सफरले मलेसियाबाट सेवा सुरु गरेसँगै यहाँ रहेका नेपालीलाई नेपालमा रेमिट्यान्स पठाउन निकै सहज हुने भएको छ । वालेट टु वालेट रेमिट्यान्स पठाउन सकिने भएपछि नेपालीले एजेन्टसम्म धाउनुपर्ने बाध्यता हटेको छ ।

आगामी दिनहरुमा विश्वका अन्य मुलुकबाट पनि रेमिट्यान्स् कारोबार सुरु गरिने कम्पनीले जनाएको छ । डिजिटल माध्यमबाट आफूलाई सुरक्षित, समयको बचत, आर्थिक फाइदा र प्राविधिक ज्ञानको अवसर मिल्ने हुँदा नेपालको रेमिट्यान्स क्षेत्रमा अझ सरल र सुरक्षित ढंगले रेमिट्यान्स् भित्राउन आफूहरुले काम गरिरहने कम्पनीले जनाएको छ ।

इसेवा मनिट्रान्सफरलाई विप्रेषणको विश्व बजारमा छुट्टै नाम, सेवा र प्रविधिको पूर्ण प्रयोग गर्ने कम्पनीका रुपमा स्थापना गर्नु आफूहरुको उद्देश्य रहेको कम्पनीको मान्यता छ ।