हरेक दिन नाकाबाट भित्रिएका सयौँलाई विना परीक्षण घर पठाइँदै, स्थानीय बासिन्दा संक्रमणको त्रासमा, प्रदेश सरकार भन्छः किट खरिद गर्दैछौँ, स्थानीय भन्छनः प्रदेश सरकार हरायो

० नरेन्द्र चन्द

धनगढी । हरेक दिन सुदूरपश्चिममा भारतबाट स्वदेश आउने नेपालीको घुँइचो बढेको छ । सोमबार दिउँसोसम्म मात्रै कैलालीको गौरीफन्टा नाकाबाट करिब साढे १३ हजार मानिस स्वदेश फर्किएका छन ।

उनीहरुलाई स्थानीय निकाय, प्रशासन र समाजसेवीले उद्धार गरेर खाना खुवाउने, गन्तव्यमा पठाउने काम गरिरहेको छ । तर सुदूरपश्चिम प्रदेश सरकारले उनीहरुको परीक्षणका लागि किटको व्यवस्था गर्न नसक्दा विना परीक्षण उनीहरुलाई सम्बन्धित पालिकामा पठाउने गरिएको छ ।

विना परीक्षण सम्बन्धित पालिकामा पठाइन थालेपछि सम्भावित संक्रमित सँगै गाउँ गाउँमा कोरोनाको संक्रमण पनि फैलने चिन्ताले यस क्षेत्रका बासिन्दा त्रसित भएका छन । विना परीक्षण सुदूर, कर्णाली, पाँच नम्बर प्रदेश लगायत देशका विभिन्न पालिकामा भारतबाट भित्रिएकाहरुलाई पठाउन थालिएको हप्ता दिन हुँदा पनि प्रदेश सरकारले भने किटको व्यवस्थापन गर्न नसकेको गुनासो यस क्षेत्रका बासिन्दाले गरेका छन ।

प्रदेश सरकारको उदासिनता र निस्क्रियतालाई लिएर यस क्षेत्रका मिडिया, सामाजिक सञ्जाल प्रयोगकर्ता र समाजसेवीहरुले नै ‘प्रदेश सरकार हराएको सूचना’ भन्दै सामाजिक रुपमा व्यंग्य समेत गरेका छन । विभिन्न नाका भएर भारतबाट फर्कनको घुँइचो भने रोकिएको छैन । आज मात्रै कञ्चनपुरको गड्डाचौकी नाकाबाट समेत प्रवेश दिएपछि स्वदेश भित्रने नेपालीको संख्यामा बढोत्तरी भएको छ ।

आइतबार मात्रै कैलालीको त्रिनगर भन्सारसँग जोडिएको भारतीय गौरीफण्टा नाकाबाट तीन हजार नौ सयभन्दा बढी नेपाली भित्रिएका थिए भने सोमबार दिउँसोसम्म दुई हजार दुई सय भित्रिएको स्थानीय प्रशासनले जनाएको छ । यो नाकाबाट जेठ ३ गतेयता करिब साढे १३ हजार मानिस स्वदेश फर्किएका छन । यो संख्या दिनकै बढिरहेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताएका छन ।

परीक्षण मात्र होइन यसरी भित्रनेलाई संघीय सरकारको अनुमति नभएको भन्दै प्रदेश सरकारले खानपान र व्यवस्थापनको काम पनि नगरेको गुनासो उनीहरुको छ । यस विषयमा सुदूरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टका स्वकीइ सचिव शिव ओल ीभने कानुनी रुपमा अडचन र संघीय सरकारका कारण धेरै गर्न नसकिएको प्रतिक्रिया दिन्छन ।

भारतबाट नेपाल प्रवेश गरेका नेपालीहरुलाई परीक्षण विनै धमाधम सम्बन्धित पालिकामा पठाउन थालिएपछि सुदूरपश्चिम कोरोना संक्रमणको उच्च जोखिममा परेको स्वाथ्यविज्ञहरु बताउँछन । भारतबाट फर्कने संयौँको संख्यामा रहने भएकोले सामाजिक दुरी कायम गरिएको छैन । उनीहरुबाट गाउँ गाउँमा पनि संक्रमण फैलनसक्ने त्रासमा स्थानीयबासिन्दा छन् । भारतमा कोरोनाबाट अत्यधिक प्रभावित सहरहरुबाट समेत नेपाली स्वदेश फर्किरहेकाले संक्रमण भित्रिनसक्ने जोखिम उच्च रहेको चिकित्सकहरुले स्वीकारेका छन ।

हाल देखिएका १५ जना (५ निको भएका)लाई समेत व्यवस्थापन गर्न हम्मे हम्मे परेका बेला बढ्नसक्ने सम्भावित संक्रमितलाई उपचार गर्न यहाँको स्वास्थ्य संरचना, स्वास्थ्यकर्मी र गर्मी मौषमका कारण हम्मे हम्मे पर्ने स्वाथ्यकर्मीहरु बताउँछन ।

भारतबाट फर्कनेहरुसँगै संक्रमण भित्रनसक्ने भएकाले सुदूरपश्चिममा कोरोनाको संक्रमणको जोखिम बढेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीले नै स्वकीकारेका छन । ‘भारतबाट आएका सयौँ मानिस गाउँगाउँ पुग्दैछन । संक्रमण फैलन सक्छ । अहिले ध्यान नदिने हो भने प्रदेशमा कोरोनाले महामारीको रुप लिनसक्छ,’ अवस्थीले भनेका छन ।

स्वास्थ्य परिक्षणका लागि किट नभए पनि क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिएको जिकिर भने प्रदेश सरकारको छ । क्वारेन्टाइनमा राख्न स्थानीय तहहरुसँग प्रदेश सरकारका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले बताएका छन तर स्थानीय निकायका प्रतिनिधि, समाजसेवी, पत्रकारले भने प्रदेश सरकारको असहयोग, उदासिनता र निस्क्रियताका कारण भारतबाट आउनेलाई खान, बस्न र घर पठाउन विभिन्न दाता गुहार्नुपरेको गुनासो गरेका छन ।

मन्त्री सुवेदीले आरडीटी किट र जनशक्ति नभएका कारण परीक्षण गर्न नसकिए पनि किट खरिदको प्रक्रिया सुरु गरेको बताए । मानिस आएर गाउँ गाउँ पुगिसकेपछिको किट ‘लगनपछिको पोते’ हुने यहाँका बुजु्रक, समाजसेवीको भनाइ छ ।