…कोही मर्न डाराउँदिन भन्छ भने ऊ गोर्खाली हो

काठमाडौं । चलचित्र ‘गोर्खा वारियर’को टेस्ट टिजर सार्वजनिक गरिएको छ । यो टिजरमा समाबेश दृश्यहरु चलचित्रमा भने नरहने निर्माण पक्षले जनाएको छ । मिलन चाम्सको निर्देशनमा बन्न लागेको चलचित्रमा पहिलो पटक यस्तो प्रयोग गरिएको निर्देशक चाम्सले बताए ।

‘यदि कोही मर्न डराउदिन भन्छ भने कि ऊ झुट बोल्दै छ, कि त ऊ गोर्खाली हो’ फिल्ड मार्शल शाम मानेस्काको भनाइ समाबेश गरिएको टिजरमा नव नायक रितेश चाम्सको स्क्रिन टेस्ट गर्न नेपालमै छायांकन गरिएको हो ।

वीर गोर्खालीको कथामा बन्ने चलचित्र ‘गोर्खा वारियर’को केहि समयपछि छायांकन सुरु हुने छ । चलचित्रमा कलाकार दयाहाङ राई, प्रशान्त तामाङ, वर्षा सिवाकोटी, बुद्धि तामाङ, विजय लामा, माओत्से गुरुङ, कविता आले, रुपा पुन रहने छन । हलिउड कलाकारको पनि अभिनय रहने चलचित्रबाट रितेश चाम्सले डेब्यु गर्नेछन् ।

५० प्रतिशत हलिउड प्राविधिक राखेर चलचित्र नेपाली र अंग्रेजी भाषामा तयार गरिनेछ बताइएको छ । चलचित्रको लण्डनमा १० हजार दर्शकका साथ वर्ल्ड प्रिमियर गरिने निर्देशक मिलनले बताए ।

यूके, अफगानिस्तान र नेपालमा चलचित्र छायांकन हुने निर्माण पक्षले बताएको छ । लण्डन सिने आइ प्रोडक्सनको व्यानरमा निर्माण हुने चलचित्रको स्क्रिप्ट प्रदीप भारद्वाजले लेखेका हुन् । चलचित्र सन २०२१ मा विश्वभर प्रदर्शनमा ल्याइने बताइएको छ ।