बादी महिलालाई भोकको पिर, भन्छनः कि माम देऊ, होइन भने पुरानो पेशा सञ्चालन गर्न देऊ

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा–२ मुढामा रहेका बादी समुदायका महिलालाई कारोना माहामारीमा संक्रमणभन्दा भोकले मर्नुपर्ने चिन्ताले पिरोलेको छ । पहिलाजस्तो देह व्यापार पनि सबैले नगर्ने र अन्य काम पनि नभएकाले भोकले मरिने चिन्ताले पिरोलेको यहाँका बादी महिलाले बताएका छन ।

‘गाउँपालिकाले दिएको १५ किलो चामल सकिएको धेरै भयो, हामी भोकले मर्नुपर्ने अवस्थामा आइसकेका छौँ,’ बादी समुदायमा बस्दै आएकी यमुना बादीले भनिन, ‘हामीले हाम्रा लागि सरकार छ भनेर कसरी सोच्ने १५ किलो चामल, अलिकति दाल, नुन दिएर गएको सरकार फेरि हाम्रो अवस्था बुझ्न कहिले आएन ।’

उनीहरुका अनुसार गाउँमा भएका युवा पनि कमाउनका लागि भारत गएका उतै रोकिएका छन् । गाउँमा केटाकेटी र महिला मात्र छन् । एक बादी महिलाले भनिन, ‘पुरानो पेशा परिवर्तन गर्न निकै संघर्ष गरेर टोलमै सानो चिया पसल चलाउँदै आएको थिएँ, तर अहिले त्यो पनि बन्द भयो । लामो समय बन्दाबन्दी भएका कारण आउने बाटो भएन, भएको खाद्यान्न खाइसक्यौँ, अब भोकै बस्नुपर्ने अवस्था छ ।’

लामो समयको संघर्ष र चेतनापछि हाम्रो समुदायका केही मानिसमा पहिले–पहिले गरिआएको देहव्यापार ठिक नभएको र विकल्पमा अर्को कुनै श्रमलाई मुख्य पेशाका रूपमा अङगाल्नुपर्ने सोचको विकास भएको थियो ।

तर अहिलेको यो विषम परिस्थितिले यस्तो अवस्था सिर्जना गरिदियो कि भोकभन्दा अर्को ठूलो कुनै संकट छैन । हामीलाई राज्यले कि काम दिनुपर्यो कि माम दिनुपर्यो, होइन भने हाम्रो पुरानो पेशालाई सञ्चालन गर्न दिनुप¥यो भन्ने आवाज समुदायमा उठ्न थालेको बताउँछिन सुनिता बादी ।

‘हामीलाई अहिले फैलिएको कोरोनाको भन्दा बढी चिन्ता भोकको छ । केटाकेटीले पेटभरि खान पाउँदैनन्, हामी कयौँ दिन भोकै सुतेका छौँ, यस्तोमा हामीलाई सरकारले हेर्दैन भने कसले हेर्छ ?,’ सितला बादीको प्रश्न छ ।

बर्दगोरिया गाउँपालिकाका अध्यक्ष बलिराम चौधरी गाउँपालिकाको तर्फबाट बादी समुदायले पहिलो चरणको राहत पाइसकेको बताउँछन । बन्दाबन्दी लम्बिँदै गएका कारण अन्न सकिएको होला तर फेरि दोस्रो चरणको राहत वितरणका क्रममा बादी समुदायमा पनि बुझ्ने र आवश्यक परे राहत प्रदान गर्ने अध्यक्ष चौधरी बताउँछन ।