क्वारेन्टिनमै कृष्णपुरका वडाध्यक्षको मृत्यु

कञ्चनपुर । कारोना भाइरस संक्रमण नियन्त्रणका लागि क्वारेन्टिन व्यवस्थामा जुटेका कञ्चनपुरको कृष्णपुर नगरपालिका ७ का वडाध्यक्ष कल्लु रानाको गएराति मृत्यु भएको छ ।

राष्ट्रिय माध्यमिक विद्यालयमा रहेको क्वारेन्टिनमा कुर्सीमा बसेर फोन गरिरहेका बेला एक्कासी बेहोस भएका ५८ वर्षीय रानाको मृत्यु भएको हो । राना साँझपख घरमा पुगेर नुहाएपछि खाना खाएर क्वारेन्टिन पुगेका थिए ।

नगरप्रमुख कर्णबहादुर हमालका अनुसार नयाँ क्वारेन्टिन स्थापना गरिएको थियो, व्यवस्थापनबारे जानकारी लिनका लागि राति क्वारेन्टिनमा पुगेका रानाको मृत्यु भएको हो ।

वडाध्यक्ष रानामा कुनै पनि रोगको लक्षण यसअघि नदेखिएकाले हृदयाघातका कारण उनको मृत्यु भएको हुनसक्ने नगर प्रमुख मल्लले अनुमान गरे । मृत्यु भएका रानाको शव परीक्षणका लागि राति नै सेती प्रादेशिक अस्पताल धनगढीमा पु¥याइएको थियो । अस्पतालमा मृतक रानाको शव परीक्षणपश्चात स्वाबको नमूना सङ्कलन गरी परीक्षण गरिने छ ।

समाजसेवी, मिलनसार र समाजमा निकै सक्रिय रानाको निधनप्रति त्यस क्षेत्रका राजननीतिज्ञले समवेदना व्यक्त गरेका छन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री एन पी साउदले शालीन, इमान्दार र सामाजिक सेवामा तल्लीन लोकप्रिय ब्यक्तित्व रानाको देहाबसानको खबरले आफू स्तब्ध र दुःखी भएको बताएका छन ।

उनले सामाजिक सञ्जालमार्फत ‘कृष्णपुर नगरपालिकाले एक असल जनप्रतिनिधि गुमाएको छ, पार्टीले एक कुशल संगठक । दिबंगत आत्माको चीर शान्तीको कामना गर्दै श्रद्धाञ्जली अर्पण गर्दछु’, भनेका छन । नेता साउदले शोक सन्तप्त परिवारमा गहिरो समवेदना समेत व्यक्त गरेका छन ।